काठमाडौँ ।विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये एउटा निशाना भारततर्फ आउँदै गरेको जहाज बनेको छ। यस घटनाले भारतको ऊर्जा आपूर्ति र समुद्री व्यापारिक सुरक्षाबारे चिन्ता बढाएको छ।
थाइल्याण्डको स्वामित्वमा रहेको ‘मयूरी नारी’ नामक जहाज ओमानको समुद्री तटबाट करिब ११ नटिकल माइल उत्तरतर्फ आक्रमणमा परेको हो। उक्त जहाज भारतको गुजरात राज्यस्थित बन्दरगाहतर्फ जाँदै थियो।
थाई नौसेनाका अनुसार यूएईको आबुधाबीस्थित खलिफा पोर्टबाट प्रस्थान गरेको केही घण्टामै जहाजमाथि आक्रमण भएको हो। समाचार एजेन्सी एपीका अनुसार अज्ञात ‘प्रोजेक्टाइल’ ठोक्किएपछि जहाजमा भीषण आगलागी भएको थियो, जसका कारण जहाजको सञ्चालन पूर्ण रूपमा अवरुद्ध भएको छ।
स्ट्रेट अफ होर्मुज क्षेत्रमा समुद्रको चौडाइ करिब ३३ किलोमिटर भए पनि जहाज आवतजावत गर्न मिल्ने मार्ग करिब ११ किलोमिटर मात्र छ। बाँकी भाग कम गहिरो भएकाले ठूला जहाज सञ्चालन गर्न सकिँदैन। यही कारण यो मार्गलाई अत्यन्त संवेदनशील समुद्री मार्ग मानिन्छ।
भारतले आफ्नो ऊर्जा आवश्यकताको ठूलो हिस्सा कच्चा तेल र प्राकृतिक ग्यास साउदी अरब, इराक, कुवेत र संयुक्त अरब इमिरेट्सबाट यही मार्ग हुँदै आयात गर्ने गर्दछ।
अमेरिका र इजरायलसँग बढेको तनावपछि इरानले खाडी क्षेत्रमा अमेरिकी सैन्य अड्डा रहेका मुलुकलाई लक्षित गर्दै आक्रमण जारी राखेको बताइएको छ। तेल आपूर्तिको मार्ग बन्द गर्न सक्ने चेतावनीपछि होर्मुज क्षेत्रमा सुरक्षा जोखिम बढेको छ।
पछिल्लो ७२ घण्टामा होर्मुज स्ट्रेट हुँदै दुईवटा अन्तर्राष्ट्रिय ट्यांकर मात्र पार हुन सकेका छन्। थप आक्रमणको जोखिमका कारण ठूला सिपिङ कम्पनीहरूले यो मार्ग प्रयोग गर्न हिच्किचाइरहेका छन्। सीमित जहाज मात्र सञ्चालनमा रहेकाले ऊर्जा आपूर्ति थप प्रभावित भएको छ।
गुजरात आउँदै गरेको जहाजमाथि आक्रमण भएपछि भारत सरकारले घटनाको निन्दा गरेको छ।
होर्मुज स्ट्रेट प्रयोग गर्न नसक्दा भारतीय बन्दरगाहका लागि आउने जहाजहरू अफ्रिकाको बाटो हुँदै वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था देखिएको छ। यसो गर्दा भारत पुग्न करिब दुई हप्ता बढी समय लाग्ने बताइएको छ। ढुवानी र बीमा खर्च बढ्दा आयात हुने वस्तुको मूल्यसमेत महँगो हुन सक्ने अनुमान गरिएको छ।
मध्यपूर्वमा बढ्दो तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य पनि बढेको छ। प्रति ब्यारेल १०० डलर नाघिसकेको अवस्थामा भारतमा पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्ने संकेत देखिएको छ।
यसबीच इन्धन आपूर्तिको अभाव कम गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल विश्व बजारमा उपलब्ध गराउने निर्णय गरेको छ। यसमध्ये सबैभन्दा ठूलो हिस्सा अमेरिकाले उपलब्ध गराउने जनाइएको छ। अमेरिकाले कुल ४० करोडमध्ये १७ करोड २० लाख ब्यारेल तेल उपलब्ध गराउने बताइएको छ।


