यी स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

by समतल अनलाइन
61Shares

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

बुधबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ। पछिल्लो तीन घन्टामा कास्कीको लामापाटन क्षेत्रमा ६.६ मिलिमिटर वर्षा मापन भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित अन्य पहाडी भू–भागमा सामान्यतया बादल लाग्नेछ। बाँकी भू–भागमा भने आंशिक बदली रहनेछ। तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलोको सम्भावना पनि रहेको छ।

दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्यतया बादल लाग्नेछ भने अन्य स्थानमा आंशिक बदली रहनेछ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

You may also like