रूपन्देहीका अधिकांश क्षेत्रमा ठूला दलकै जमानत जफत

by समतल अनलाइन
83Shares

बुटवल । २०७९ सालको निर्वाचनमा राष्ट्रिय दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेक अन्य अधिकांश राजनीतिक दलहरूले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा रूपन्देहीका धेरै क्षेत्रमा जमानत जोगाउन सकेनन्।

नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीले रूपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रबाट जमानत जोगाउन असफल भएका छन्। अन्य ठूला दलहरूले पनि सबै क्षेत्रमा जमानत जोगाउन सकेनन्।

२०७९ को निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले पनि रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा जमानत जोगाउन सकेन। यस क्षेत्रमा जमानत जोगाउन ८ हजार ९४२ मत आवश्यक पर्नेमा कांग्रेसका उम्मेदवार सुशील गुरुङले ८ हजार ४३५ मत मात्र प्राप्त गरेका थिए।

यस्तै नेकपा एमालेले पनि रूपन्देही–३ र रूपन्देही–१ मा जमानत जोगाउन सकेन। रूपन्देही–३ मा एमालेका बासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गरेका थिए भने रूपन्देही–१ मा एमालेका दधिराम न्यौपानेले ७ हजार ४८८ मत प्राप्त गरे। रूपन्देही–१ मा जमानत जोगाउन ९ हजार २०० मत आवश्यक थियो।

रूपन्देही–१ मा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिएका पूर्व स्थानीय विकास राज्यमन्त्री घनश्याम यादव अहिरको पनि जमानत जफत भएको छ। उनले २ हजार १९८ मत मात्र प्राप्त गरेका थिए।

त्यस्तै रूपन्देही–४ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लले पनि जमानत जोगाउन सकेनन्। जमानत जोगाउन ७ हजार २०४ मत आवश्यक पर्नेमा शुक्लले ३ हजार ४१० मत मात्र ल्याए। शुक्ल यस क्षेत्रबाट पटक–पटक निर्वाचित हुँदै मन्त्रीसमेत भइसकेका नेता हुन्।

यस्तै रूपन्देही–५ मा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिएका पूर्वमन्त्री मुहम्मद वकील मुसलमान र जनमत पार्टीका उम्मेदवार ओमप्रकाश यादवले पनि जमानत जोगाउन सकेनन्। यस क्षेत्रमा जमानत जोगाउन ७ हजार ८८३ मत आवश्यक पर्नेमा मुसलमानले ६ हजार १७६ र यादवले ३ हजार १०९ मत मात्र प्राप्त गरेका थिए।

You may also like