काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई आफ्ना महत्त्वपूर्ण कागजात सुरक्षित राख्न अनुरोध गरेको छ ।
अबुधाबीस्थित नेपाली दूतावासले मंगलबार सूचना जारी गर्दै यूएईमा बसोबास तथा कार्यरत करिब सात लाख नेपालीलाई राहदानीलगायत आवश्यक कागजात सुरक्षित राख्न आग्रह गरेको हो।
सूचनामा भनिएको छ, ‘यूएईमा बसोबास तथा कार्यरत सम्पूर्ण नेपालीहरूलाई समयमै आफ्नो राहदानीको बहाल अवधि चेक गर्नुहुन र आफ्ना महत्त्वपूर्ण कागजातहरू जस्तै आफ्नो राहदानी, नागरिकता तथा इमिरेट्स आईडीको डिजिटल कपी सुरक्षित राख्नुहुन अनुरोध छ।’
दूतावासले राहदानीको म्याद सकिएको वा सकिन लागेका नेपालीलाई यथाशीघ्र नवीकरण प्रक्रिया अघि बढाउन पनि आग्रह गरेको छ। त्यसका लागि अबुधाबीस्थित नेपाली दूतावास तथा दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा आवेदन दिन सकिने जनाइएको छ।
त्यसैगरी कुनै सेवा लिन दूतावास वा कन्सुलेट कार्यालय जाँदा आफ्नो तथा वरपरको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै स्थानीय सूचना र सुरक्षा मापदण्ड पालना गर्न पनि दूतावासले आग्रह गरेको छ।


