काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन कुमार थापाले नैतिकताको नाममा राजीनामा दिनु भन्दा छिटो पार्टीको अधिवेशनमा जानु नै उपयुक्त र जिम्मेवार कदम हुने बताएका छन्।
भण्डारीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कांग्रेसको हालको चुनाव नियमित अधिवेशनबाट नभएको उल्लेख गरेका छन्। त्यसैले अहिले राजीनामा दिनेभन्दा पनि छिटो अधिवेशन गराएर संगठनलाई सही दिशामा लैजानु नै समयसापेक्ष कदम हुने उनको भनाइ छ।
उनले वर्तमान अवस्थामा कांग्रेसलाई जोगाउनु आफैंमा ठूलो नैतिक जिम्मेवारी भएको उल्लेख गरेका छन्। “आजको कटु यथार्थ के हो भने युवाहरू कांग्रेसबाट टाढिँदै गएका छन्। यस्तो बेला पार्टीलाई छोडेर हिँड्ने होइन, औषधि खुवाएर बचाउनुपर्ने अवस्था छ,” उनले भनेका छन्।
भण्डारीले नेपाली राजनीतिमा नैतिकता कमजोर बन्दै गएको टिप्पणी गर्दै अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ विरुवा रोप्ने आवश्यकता रहेको बताएका छन्। समस्या देखेर भाग्नु नेतृत्वको गुण नभएको उल्लेख गर्दै उनले संगठनलाई उपचार गरेर जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य भएको बताएका छन्।
उनका अनुसार इच्छाशक्ति र साहस भए अझै पनि नेपाली कांग्रेसलाई बलियो बनाउने सम्भावना रहेको छ। उनले अन्त्यमा “जय नेपाल” भन्दै पार्टीभित्र सुधार र एकताको आवश्यकता औंल्याएका छन्।


