काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले बेहोरेको पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने तयारी गरेका छन्।
सोमबार साँझ नयाँ बानेश्वरमा उपसभापति विश्वप्रकाश शर्मासँग भएको विशेष छलफलका क्रममा सभापति थापाले आफू पद त्याग गर्न तयार रहेको बताएका हुन्। फागुन २१ गते सम्पन्न निर्वाचनको नतिजा पार्टीको पक्षमा नआएपछि नेतृत्वको हैसियतले आफूले मार्गप्रशस्त गर्नु उचित हुने तर्क थापाले राखेको स्रोतले जनाएको छ।
‘म सभापति पदबाट राजीनामा दिन्छु,’ छलफलमा थापाले भनेका थिए, ‘पार्टीले चुनावी धक्का बेहोरेको अवस्थामा नेतृत्वले जिम्मेवारी लिनु नै लोकतान्त्रिक संस्कार हो।’
यद्यपि, उपसभापति विश्वप्रकाश शर्माले भने तत्काल राजीनामा नदिन थापालाई सुझाव दिएका छन्। विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको ५० दिनभित्रै निर्वाचनमा होमिनुपरेकाले यो पराजयको दोष वर्तमान नेतृत्वलाई मात्र दिन नहुने शर्माको तर्क छ।
छलफलका क्रममा शर्माले भने, ‘अहिले राजीनामा दिएर भाग्ने बेला होइन। चुनावी पराजयको सूक्ष्म समीक्षा गर्दै स्थितिलाई सम्हालेर अघि बढ्नु नै अहिलेको मुख्य आवश्यकता हो।’
विशेष महाधिवेशन पछिको छोटो अवधिमै चुनाव भएकाले पार्टीभित्रको आन्तरिक व्यवस्थापन र आगामी कार्यदिशाबारे गम्भीर समीक्षा गरेर मात्र ठोस निर्णयमा पुग्नुपर्ने विषयमा दुई नेताबीच संवाद भएको बुझिएको छ।


