अन्तर्राष्ट्रिय नारी दिवसमा बुटवलमा रक्तदान कार्यक्रम, १५१ युनिट रगत संकलन

by समतल अनलाइन
103Shares

बुटवल । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुटवलमा आयोजित रक्तदान कार्यक्रममा महिलाको सक्रिय नेतृत्वमा १ सय ५१ युनिट रगत संकलन गरिएको छ।

नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजनामा बुटवलस्थित बालमन्दिर परिसरमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रक्तदानलाई मानव जीवन बचाउने पवित्र कार्यको रूपमा उल्लेख गर्दै सामाजिक सेवामा महिलाको बढ्दो सक्रियता प्रशंसनीय रहेको बताए।

समाजकी सदस्य तथा कार्यक्रम संयोजक जानकी नेपालका अनुसार कार्यक्रममा बुटवलमा क्रियाशील २८ वटा संघसंस्थाले सहकार्य गरेका थिए। तीमध्ये २५ वटा संस्था महिलासँग सम्बन्धित रहेको उनले जानकारी दिइन्। यसले कार्यक्रमलाई महिलाको सामाजिक उत्तरदायित्व र सहकार्यको उदाहरणका रूपमा प्रस्तुत गरेको उनले बताइन्।

रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका महिला तथा पुरुषले उत्साहपूर्वक रक्तदान गरेका थिए। कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो।

हरेक वर्ष मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय नारी दिवस यस वर्ष ‘सबै महिला र बालिकाका लागि अधिकार, समानता र सशक्तिकरण’ भन्ने नारासहित विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

नारी दिवसको ऐतिहासिक पृष्ठभूमि श्रमिक महिलाको अधिकारको आन्दोलनसँग जोडिएको छ। सन् १९०८ मा अमेरिकाको न्यूयोर्कमा महिलाले समान ज्याला, काम गर्ने समयको सुधार र मतदान अधिकारको माग गर्दै आन्दोलन गरेका थिए। त्यसपछि सन् १९१० मा डेनमार्कको कोपनहेगनमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनले नारी दिवसलाई विश्वव्यापी रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो।

सन् १९७५ मा संयुक्त राष्ट्रसंघले आधिकारिक मान्यता दिएपछि अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर औपचारिक रूपमा मनाउन थालिएको हो। आज यो दिवस महिलाको अधिकार, समानता र उपलब्धिको सम्मान गर्ने अवसरका रूपमा स्थापित भएको छ।

You may also like