काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)लाई आफ्नो सधैँ माया रहने प्रतिक्रिया दिएका छन्।
आइतबार सुनसरी–१ मा विजयी भएपछि हर्कले फेसबुकमा लेखेका थिए, ‘लु अब चाहीँ सुनसरी–१ बाट म पहिलो भएको घोषणा गर्दछु। जय माटो, जय देश, जय श्रम संस्कृति।’ यस स्टाटसको जवाफमा बालेनले हर्कलाई ‘हिजोदेखि भोलिसम्म प्रेम रहने’ भन्दै कमेन्ट गरेका हुन्।
चुनावी अभियानको क्रममा रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको थियो। रास्वपाको बहुमत सुनिश्चित भएपछि आइतबार बिहान साम्पाङले बालेनको सट्टा रविलाई प्रधानमन्त्री बनाउनुपर्ने स्टाटस पोस्ट गरेका थिए । यसपछि बालेनले कमेन्ट गरेका हुन् । उनले लेखेका छन, ‘तपाईंलाई सधैँ माया थियो र रहनेछ। तपाईं र धरानलाई सधैँ माया छ ।’
जेनजी आन्दोलनपछि लगातार बालेनप्रति आक्रोश व्यक्त गर्दै आएका साम्पाङको स्टाटसमा बालेनले दोस्रो पटक ‘आइ लभ यु’ भन्ने कमेन्ट गरेका हुन् ।
गत भदौमा पनि काठमाडौंका मेयर बालेनले धरानका मेयर साम्पाङले उठाएका सवालको जवाफ ठट्यौली पारामा दिएका थिए । जेनजी आन्दोलनपछि साम्पाङ धरानमा कम देखिएका थिए, तर फेसबुकमार्फत निरन्तर बालेनलक्षित स्टाटस पोस्ट गर्दै आएका थिए ।
जवाफमा बालेनले थप लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी नै सही, तर मेरो माया साँचो हो। You are my true love.❤️’


