बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनको रिपोर्टिङका क्रममा पत्रकारमाथि दुर्व्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनले गम्भीर आपत्ति जनाएका छन्।
गुल्मी–१ अन्तर्गत सत्यवती गाउँपालिका–५ स्थित सत्यवती माध्यमिक विद्यालयको मतदान केन्द्रमा समाचार संकलनका लागि पुगेका पत्रकारमाथि केही स्थानीय व्यक्तिले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ रुपन्देही र नेपाल प्रेस युनियन रुपन्देहीले ध्यानाकर्षण भएको जनाएका हुन्।
पत्रकार महासंघ रुपन्देहीका सचिव सीपी खनालद्वारा जारी प्रेस विज्ञप्तिमा समाचार संकलनका क्रममा पुगेका महासंघका सदस्य सन्तकुमार श्रेष्ठ र अर्जुन खत्रीमाथि स्थानीय व्यक्तिहरूले दुर्व्यवहार गरेको उल्लेख गरिएको छ। मादक पदार्थ सेवन गरेका व्यक्तिहरूले अपमानजनक शब्द प्रयोग गर्नुका साथै पत्रकारलाई अवरोध गरेको भन्दै महासंघले आपत्ति जनाएको छ।
महासंघले घटनाबारे निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै सार्वजनिक सरोकारका विषयमा पत्रकारले निर्वाध रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न पनि आग्रह गरेको छ।
त्यस्तै नेपाल प्रेस युनियन रुपन्देहीले सचिव कपिल ज्ञवालीद्वारा विज्ञप्ति जारी गर्दै पत्रकार सन्तकुमार श्रेष्ठ, अर्जुन खत्री र शंकर भुसालमाथि भएको दुर्व्यवहारप्रति दुःख व्यक्त गरेको छ। युनियनका सचिव कपिल ज्वालीद्वारा जारी विज्ञप्तिमा मतदान केन्द्रमा पुगेका पत्रकारलाई केही स्थानीय व्यक्तिहरूले अवरोध गर्नुका साथै अपमानजनक व्यवहार गरेको उल्लेख गरिएको छ।
प्रेस कार्ड, पास तथा क्यामेरा देखाउँदा समेत पत्रकारलाई प्रवेशमा रोक लगाइएको भन्दै युनियनले यसलाई प्रेस स्वतन्त्रता र सूचनाको अधिकारमाथिको उल्लंघन भएको बताएको छ।
प्रेस युनियनले घटनामा संलग्न व्यक्तिमाथि कारबाही गर्न र यस्ता घटना पुनः दोहोरिन नदिन सम्बन्धित पक्षसँग माग गरेको छ।


