काठमाडौं । भारतले नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वागत गर्दै नेपाली नागरिकले लोकतान्त्रिक अधिकार प्रयोग गरेकोमा प्रशंसा गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार सञ्चारमाध्यमका प्रश्नहरूको जवाफ दिँदै नेपालमा उत्साहजनक सहभागितासहित निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् ।
उनले नेपाली नागरिकले लोकतान्त्रिक म्यान्डेट प्रयोग गरेको भन्दै निर्वाचन सफल बनाउन भूमिका खेलेका सबै पक्षलाई बधाई दिएका छन् ।
यसका साथै उनले प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता तथा विभिन्न सरोकारवालालाई पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा बधाई दिएका छन् ।
प्रवक्ता जैसवालले गत वर्ष (भदौ २३–२४) का असाधारण परिस्थितिबीच पनि निर्वाचन सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे ।
भारतले सधैं नेपालमा शान्ति, प्रगति र स्थायित्वलाई समर्थन गर्दै आएको भन्दै उनले नेपाल सरकारको अनुरोधअनुसार यस निर्वाचनका लागि आवश्यक केही गाडीसहितका सामग्री उपलब्ध गराएको जानकारी पनि दिए ।
उनले आगामी दिनमा नेपालमा बन्ने नयाँ सरकारसँग मिलेर दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै पारस्परिक हितका लागि सहकार्य गर्न भारत इच्छुक रहेको बताए ।


