काठमाडौँ । आज हुने प्रतिनिधि सभाको निर्वाचनका लागि देश भर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ ।
निर्वाचन आयोगका अनुसार यो निर्वाचनमा विसं २०७९ को कुल मतदान स्थलको संख्या भन्दा ७५ वटा बढी निर्धारण गरिएको छ भने कुल मतदान केन्द्रको संख्या ८८५ ले वृद्धि भएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले देशभर रहेका कुल १० हजार ९६७ मतदान स्थलहरूलाई सुरक्षा संवेदनशीलताका आधारमा तीन भागमा वर्गीकरण गरिएको जनाएको छ । विगतका चुनावको सुरक्षा विश्लेषण र वर्तमान अवस्थाको मूल्याङ्कन गर्दै ३ हजार ६८० वटा मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ । त्यसैगरी, ४ हजार ४४२ वटा मतदान स्थललाई ‘संवेदनशील’ र २ हजार ८४५ वटा मतदान स्थललाई ‘सामान्य’ श्रेणीमा राखिएको छ ।
मतदान स्थलको सुरक्षाका लागि विगतका निर्वाचनहरूमा जस्तै यसपटक पनि तीन घेराको सुरक्षा प्रबन्ध मिलाएको आयोगले जनाएको छ । जसअन्तर्गत मतदान स्थलको सबैभन्दा बाहिरी घेरामा नेपाली सेना खटिनेछ भने त्यसपछिको बीचको घेरामा सशस्त्र प्रहरी बल रहनेछ । मतदान स्थलको भित्रि घेराको सुरक्षाको जिम्मा भने नेपाल प्रहरीलाई दिइएको छ ।


