बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा कर्मचारी परिचालनको काम पूरा भएको छ। जिल्लाभर कुल ४ हजार ४ सय ४ जना कर्मचारी खटिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ सय ३६ जना मतदान अधिकृत र सोही सङ्ख्यामा सहायक मतदान अधिकृत परिचालन गरिएको छ। उनीहरू मंगलबारदेखि नै सम्बन्धित मतदानस्थलमा पुगेर काम सुरु गरिसकेका छन्।
मतदानका लागि आवश्यक सामग्री व्यवस्थापन, मतदान कक्षको तयारी तथा मतदाताको लाइन व्यवस्थापनलगायतका काम अघि बढाइएको छ।
बुधबार निर्वाचन कार्यालयहरूले सर्वदलीय बैठक आयोजना गरी मतदानअघिका पूर्वतयारीबारे जानकारी गराएका छन्। जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा मतपत्र, मतपेटिका, सिल, छाप लगायत आवश्यक सामग्री व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जनाइएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता रहेका छन्। ती मतदाताले जिल्लाभर रहेका २ सय १३ मतदानस्थलअन्तर्गत ७ सय ३६ मतदान केन्द्रबाट मतदान गर्नेछन्।
रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार प्रत्येक मतदान केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित आवश्यक कर्मचारी खटाइएको छ। मतदातालाई सहज वातावरणमा मतदान गराउन २ हजार २ सय ३ जना स्वयंसेवकसमेत परिचालन गरिएको छ।
सोमबार मध्यरातदेखि मौन अवधि सुरु भएसँगै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले मतदान स्थल, मतदान केन्द्र तथा मतगणना स्थलको तयारीलाई तीव्रता दिएका छन्। मंगलबार बिहानैदेखि मतदान अधिकृत, सहायक अधिकृत, कर्मचारी तथा सुरक्षाकर्मीहरू मतदानस्थलमा पुगिसकेका छन्।
मुख्य निर्वाचन अधिकृत बस्नेतका अनुसार मतदानस्थलमा सूचना टाँस गर्ने, सर्वदलीय बैठक बस्ने तथा अन्तिम प्राविधिक तयारी गर्ने काम भइरहेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन कर्मचारी र सुरक्षाकर्मी सक्रिय रूपमा खटिएको उनले बताए।
यसैबीच पाँचै निर्वाचन क्षेत्रमा मतगणनाका लागि गणना स्थलको व्यवस्थापन पनि अन्तिम चरणमा पुगेको छ। गणना स्थल तथा आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने, तारजाली लगाउने तथा सुरक्षा व्यवस्थालाई कडाइ गर्ने काम भइरहेको बस्नेतले जानकारी दिए।
निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाउँदै कार्यालयले मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन आग्रह गरेको छ।


