निर्धक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्त भण्डारीको आह्वान

by समतल अनलाइन
62Shares

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सम्पूर्ण मतदातालाई निर्धक्क भएर मतदान गर्न आह्वान गरेका छन् ।

उनले निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी सबै तयारी पूरा भइसकेको जानकारी दिँदै आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह गरे।

‘निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला हो र जनताले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने अधिकारलाई निर्वाचनले वैधता र सुनिश्चितता प्रदान गर्छ। त्यसैले भोलि २०८२ फागुन २१ गते बिहीबार आ–आफ्ना मतदान केन्द्रमा उपस्थित भइ निर्धक्क मतदान गर्नुहुन म सम्पूर्ण मतदातालाई हार्दिक अनुरोध गर्दछु,’ उनले भने।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ र परिपक्व बनाउने विश्वास व्यक्त गरे।

निर्वाचन आयोग स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन पूर्ण रूपमा तयार रहेको उनले बताए ।

‘संविधान र कानूनअनुसार निश्चित उमेर पूरा गरेको नागरिक मतदाता हुन्छन् र सबै मतदाताको मतको मूल्य बराबर हुन्छ। मतदानलाई मतदाताको नैसर्गिक अधिकार मानिन्छ। राजनीतिक व्यवस्थाको स्वरूप, शासन, सरकार, नीति र नेतृत्वको निर्धारण हरेक मतदाताले निर्वाचनमा खसाल्ने एक–एक मतले तय गर्छ। लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान हो,’ उनले थपे।

भण्डारीले निर्वाचनलाई कुनै अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट परिचालित वातावरण बनाउन आयोग दृढ रहेको पनि बताए।

मतदानलाई मतदाताको नैसर्गिक अधिकार र कर्तव्य दुवै भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा निर्वाचनको महत्व र मतदाताको सहभागितालाई राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी तथा नागरिक संलग्नताको उच्चतम अभिव्यक्तिको रूपमा लिने बताए।

You may also like