गुल्मी-१ मा २०७९ को निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका भण्डारीले छोडे पार्टी

by समतल अनलाइन
66Shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै गुल्मी-१ बाट २०७९ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका दामोदर भण्डारीले पार्टी छाडेको घोषणा गरेका छन् ।

भण्डारीले सामाजिक सन्जालमा उनले पार्टी छाडेको घोषणा गर्दै पार्टीको साधारण सदस्यता तथा सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

भण्डारीले योगदान, त्याग र इमान्दारीभन्दा पहुँच र प्रभावलाई प्राथमिकता दिएर उम्मेदार छनोट गरेको आरोप लगाउँदै उनले प्रक्रियाविहीन तथा अपारदर्शी ढंगबाट उम्मेदवार चयन गरिएको उल्लेख गरेका छन् । उनले भनेका छन्- ‘उम्मेदवार छनोटको निर्णायक चरणमा आइपुग्दा, पार्टी केन्द्रले देखाएको व्यवहारले मेरो विश्वासको जगलाई गहिरो रूपमा हल्लायो । योगदान, त्याग र इमानदारीभन्दा पहुँच, प्रभाव र क्षणिक लोकप्रियतालाई प्राथमिकता दिने अभ्यास देखियो । योग्य र इमानदार बिउलाई पाखा लगाउँदै, प्रक्रियाविहीन र अपारदर्शी तरिकाले उम्मेदवार छनोट हुनु पार्टीले स्वयं बोलेको विधि, मूल्य र राजनीतिक नैतिकतासँग गम्भीर रूपमा बाझिएको मैले अनुभूति गरेँ ।’

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा भण्डारी गुल्मी- १ बाट रास्वपाका उम्मेदवार बनेका थिए । उनले प्रत्यक्षतर्फ एक हजार ८८२ मत र समानुपातिकतर्फ सो क्षेत्रमा ८ हजार ११६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको थियो । गुल्मी-१ बाट रास्वपाले सागर ढकाललाई उम्मेदवार बनाएको छ ।

You may also like