काठमाडौँ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदै छ । मौन अवधि सुरु भएसँगै कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न वा मत माग्न पाइँदैन ।
राजनीतिक दल तथा उम्मेदवारहरू निर्धारित समयअघि चुनावी सभा र प्रचार अभियानमा व्यस्त छन् । मौन अवधि राति १२ बजेदेखि लागू भई मतदान सम्पन्न नभएसम्म कायम रहनेछ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिताअनुसार मौन अवधिको अनुगमन गरिरहेको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोग २४ घण्टा आचारसंहिता उल्लंघनको निगरानीमा रहेको बताए ।
किन लागू गरिन्छ मौन अवधि ?
मतदानका क्रममा प्रतिस्पर्धीबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता प्रभावित नहुन् भन्ने उद्देश्यले मतदानअघिका ४८ घण्टा मौन अवधि लागू गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ ।
शान्त र स्वच्छ वातावरणमा मतदान सम्पन्न गराउने तथा उम्मेदवारबीच प्रतिस्पर्धालाई मर्यादित बनाउन मौन अवधिको व्यवस्था गरिएको हो । प्रचारप्रसारका गतिविधि रोकिने भएकाले मतदातालाई स्वतन्त्र रूपमा निर्णय लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यदि मतदानअघिसम्म प्रचारप्रसारको छुट दिइएमा मतदातामाथि प्रभाव पार्ने जोखिम बढ्ने र निर्वाचन वातावरण प्रभावित हुने सम्भावना रहने आयोगले जनाएको छ ।
मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रको तीन सय मिटर वरपर राखिएका प्रचार सामग्री हटाउन सम्बन्धित दल वा उम्मेदवारलाई निर्देशन दिनेछ । आयोगले भनेको छ, ‘दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने,’ ।
के गर्न पाइँदैन ?
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला वा गोष्ठी गर्न पाइँदैन । सामाजिक सञ्जालमार्फत पनि कसैको पक्ष वा विपक्षमा प्रचार गर्न वा मत माग्न निषेध गरिएको छ ।
राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, भ्रातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति वा संस्थाले पनि प्रचारसम्बन्धी गतिविधि गर्न नपाउने व्यवस्था छ ।
सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट कुनै सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट, सेयर वा प्रतिक्रिया दिन समेत निषेध गरिएको आयोगले स्पष्ट पारेको छ ।
आचारसंहिताको दफा १७ मा मौन अवधिसम्बन्धी व्यवस्था गरिएको छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म सम्बन्धित पक्षले तोकिएको आचरण पालना गर्नुपर्नेछ ।
प्रतिनिधिसभा निर्वाचन, मौन अवधि, निर्वाचन आयोग, आचारसंहिता, मतदान



