काठमाडौं । इरानले संयुक्त अरब इमिरेट्स (यूएई)मा गरेको आक्रमणमा एक नेपालीसहित तीन जनाको मृत्यु भएको छ। यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले मृतकमध्ये एक जना नेपाली रहेको पुष्टि गरेका छन् । मृतकको नाम भने अझै प्राप्त नभएको उनले जानकारी दिएका छन्।
गल्फ न्युजका अनुसार घटनामा एक पाकिस्तानी र एक बंगलादेशी नागरिकको पनि ज्यान गएको छ। मृतकहरूको परिचय सार्वजनिक गरिएको छैन।
आक्रमणमा ५८ जना घाइते भएका छन्। घाइतेहरू यूएई, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगान्डा, इरिट्रिया, लेबनान र अफगानिस्तानका नागरिक रहेको जनाइएको छ। उनीहरू सामान्य घाइते भएको उल्लेख गरिएको छ।
यूएईको रक्षा मन्त्रालयका अनुसार फेब्रुअरी २८, २०२६ देखि सुरु भएको आक्रमणयता देशको वायुसेना र हवाई प्रतिरक्षा प्रणालीले १६५ वटा ब्यालेस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा इरानी ड्रोनको सामना गरेको छ।
मन्त्रालयले आक्रमणको दोस्रो बिहान २० वटा ब्यालेस्टिक मिसाइल नष्ट गरिएको र आठवटा समुद्रमा खसेको जनाएको छ। त्यस्तै दुईवटा क्रुज मिसाइल र ३११ वटा ड्रोन नष्ट गरिएको तथा २१ वटा ड्रोनले नागरिक लक्ष्यमा प्रहार गरेको उल्लेख गरिएको छ।
आक्रमण सुरु भएदेखि प्रहार गरिएका १६५ मध्ये १५२ वटा ब्यालेस्टिक मिसाइल नष्ट गरिएको र १३ वटा समुद्रमा खसेको जानकारी दिइएको छ। दुवै क्रुज मिसाइल पत्ता लगाई नष्ट गरिएको तथा ५४१ ड्रोनमध्ये ५०६ वटालाई बीचमै रोकिएको र ३५ वटा देशभित्र खसेर भौतिक क्षति पुगेको मन्त्रालयले जनाएको छ।
यूएई सशस्त्र बल जुनसुकै खतराको सामना गर्न पूर्ण रूपमा तयार रहेको मन्त्रालयले जनाएको छ। नागरिक, बासिन्दा र आगन्तुकको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै आधिकारिक स्रोतबाट मात्र सूचना लिन र अफवाह नफैलाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।



