मध्यपूर्वमा रहेका १७ लाख २९ हजार नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा

by समतल अनलाइन
64Shares

काठमाडौँ।परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा १७ लाख २९ हजार २८८ नेपाली कार्यरत रहेको जनाउँदै उनीहरूको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाएको छ।

शनिबार अमेरिका–इजरायल र इरानबीचको युद्ध मध्यपूर्वमा फैलिँदा आइतबार मन्त्रालयले पत्रकार सम्मेलनमार्फत त्यहाँ रहेका नेपाली नागरिकको अवस्था र सुरक्षा सुनिश्चित गर्न सरकारका तयारीको जानकारी दिएको हो।

परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काका अनुसार इरानमा ६, इजरायलमा करिब ६ हजार ५००, इजिप्टमा ५००, ओमानमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९१३, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरबमा ३ लाख ८४ हजार ८६५, यूएईमा लगभग ७ लाख, लेबनानमा १ हजार ५००, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली रहेका छन् ।

सरकारले तनावग्रस्त देशमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न दूतावास तथा नियोगसँग ह्वाट्सएप जस्ता डिजिटल प्लेटफर्ममार्फत समन्वय गरिरहेको छ। साथै, रजिस्ट्रेसन प्लेटफर्म निर्माण गरी कन्सुलर सेवा विभागमार्फत नेपाली नागरिकको उद्धार र आवश्यक सहायताका लागि तयारी भइरहेको छ।

परराष्ट्र मन्त्रालयले युद्धको परिस्थितिलाई नियाल्दै छिमेकी मुलुक र सम्बन्धित देशको तत्परताअनुसार उद्धार रणनीति अगाडि बढाउने जनाएको छ।

सहसचिव खड्काका अनुसार युद्धको दौरान नेपाली नागरिक मध्यपूर्वमा विभिन्न अवस्थाहरूमा अलपत्र पर्न सक्छन्। त्यसैले सरकार र सम्बन्धित निकायले उद्धारका लागि तत्काल कदम चाल्ने तयारी गरिरहेको छ।

You may also like