च्याटजिपिटीले नयाँ रेकर्ड, साप्ताहिक सक्रिय प्रयोगकर्ता ९० करोड नाघे

by समतल अनलाइन
62Shares

काठमाडौँ । ओपनएआईको लोकप्रिय एआई टूल च्याटजिपिटीले नयाँ रेकर्ड बनाएको छ । अब यो केवल एक प्रयोगात्मक सफ्टवेयर नभई विश्वभरका करोडौँ मानिसहरूको दैनिक कामकाजको अभिन्न हिस्सा बनेको छ ।

कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार, च्याटजिपिटीलाई अहिले हरेक हप्ता ९० करोड मानिसले सक्रिय रूपमा प्रयोग गरिरहेका छन् । अक्टुबर २०२५ मा यो संख्या ८० करोड थियो, जसले छोटो समयमै १० करोड नयाँ प्रयोगकर्ता प्लेटफर्ममा जोडिएका छन् । यसरी हेर्दा, कम्पनी छिट्टै १०० करोड साप्ताहिक प्रयोगकर्ता लक्ष्यमा पुग्ने अवस्थामा छ ।

केवल फ्री संस्करणमात्र होइन, प्रयोगकर्ताहरू प्रिमियम फीचरको लागि पनि पैसा खर्च गरिरहेका छन् र हाल च्याटजिपिटीसँग ५ करोड भुक्तानी गरेका नियमित ग्राहक भइसकेका छन् । जनवरी-फेब्रुअरी २०२६ कम्पनीका लागि नयाँ भुक्तानी गरेका नियमित ग्राहक जोड्नका हिसाबले सबैभन्दा सफल महिना बन्न सक्ने देखिन्छ ।

विस्तारित प्रयोगकर्ता र लोकप्रियताले निवेशकहरूलाई पनि आकर्षित गरेको छ । ओपनएआईले ११० अरब डलर नयाँ प्राइभेट फन्डिंग जुटाएको छ । यसले कम्पनीको कुल मूल्यांकन ७३० अरब डलर पुर्‍याएको छ । यस फन्डिंगमा अमेजनले ५० अरब डलर, एनभीडियाले ३० अरब डलर र सफ्टब्यांकले ३० अरब डलरको योगदान दिएको छ । फन्डिंग राउन्ड अझै खुला रहेकोले आगामी दिनमा यसमा थप लगानीकर्ता जोडिन सक्ने देखिन्छ ।

च्याटजिपिटी अहिले प्रत्येक प्रयोगकर्ताको व्यक्तिगत सहायक बनेको छ । यो आकर्षक सामग्री लेख्न, ईमेल ड्राफ्ट तयार गर्न, कोडिङ र सफ्टवेयर विकास गर्न, रिसर्च गर्न, विद्यार्थीको पढाइमा सहयोग गर्न र व्यवसायिक योजना तथा रणनीति बनाउनमा उपयोगी साबित भएको छ । प्रयोगकर्ताको बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले सिस्टमलाई अझ छिटो, भरोसाप्रद र सुरक्षित बनाएको जनाएको छ ।

You may also like