प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

by समतल अनलाइन
74Shares

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। मतपत्र, मतपेटिका तथा आवश्यक निर्वाचन सामग्री सबै जिल्लामा पुर्‍याइसकिएको निर्वाचन आयोगले जनाएको छ।

पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा खटिने मतदान अधिकृतहरूले सामग्री बुझेर कार्यक्षेत्रतर्फ प्रस्थान गरिसकेका छन्। तराई–मधेस र सहरी जिल्लामा भने मतदान अधिकृतहरूको अनुशिक्षण जारी छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दुर्गम जिल्लामा सामग्रीसहित कर्मचारी खटिइसकेका छन् र अब प्राथमिकता जिल्लाबाट निर्वाचन क्षेत्रतर्फ केन्द्रित भएको छ। अधिकांश जिल्लामा आज पनि मतदान अधिकृतका लागि तालिम सञ्चालन भइरहेको उनले बताए।

मतदान केन्द्रका रूपमा प्रयोग हुने विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयलगायत संरचना उपलब्ध गराइदिन संघीय सरकार र स्थानीय तहलाई अनुरोध गरिएको छ। निर्वाचन सुरक्षा, अत्यावश्यक सेवाको सञ्चालन, समन्वय र व्यवस्थापनसम्बन्धी आवश्यक निर्णय आयोगले गरिसकेको जनाएको छ।

चितवनमा तीनवटै निर्वाचन अधिकृतको कार्यालयमा सामग्री पठाइसकिएको छ। फागुन १८ गतेदेखि मतदान अधिकृतहरूले सामग्री बुझ्ने कार्यक्रम तय गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मतदानमा खटिने कर्मचारी छनोट र अभिमुखीकरण सम्पन्न भइसकेको छ। चितवनका ४९४ मतदान केन्द्रमा दुई हजार ९६४ कर्मचारी खटिने छन्। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार निर्वाचन शान्तिपूर्ण बनाउन चारवटै सुरक्षा निकाय परिचालित भएका छन्।

६५ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा

प्रत्यक्षतर्फ ६१ निर्वाचन चिह्नमा ६५ राजनीतिक दल प्रतिस्पर्धामा छन्। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार मैदानमा छन्।

समानुपातिकतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ।

यसपटक ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्। अस्थायी मतदाता एक लाख ८६ हजार १४२ छन्।

देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। १४३ अस्थायी मतदानस्थल पनि तय गरिएको छ। निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन्।

निर्वाचनमा दुई लाख १५ हजार कर्मचारी परिचालित हुनेछन्। प्रत्यक्ष र समानुपातिकतर्फ गरी कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ। चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षणमा खटिएका छन्।

You may also like