काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नीतिगत रूपान्तरणसहित नेतृत्व परिवर्तन भएको उल्लेख गर्दै त्यसले देशलाई निकास दिने बताएका छन् ।
पार्टीका तर्फबाट विदेशमा रहेका नेपालीलाई सन्देश दिँदै उनले परिवर्तन घोषणा मात्रै पर्याप्त नहुने बताए । प्रशासन, राजनीति, दल, सरकार र समग्र समाजमा व्यापक रूपान्तरण आवश्यक रहेको उल्लेख गर्दै त्यसको सुरुवात कांग्रेसबाट भइसकेको दाबी गरे ।
शर्माले गैरआवासीय नेपाली (एनआरएन) का भावना सम्बोधन गर्ने नीति अघि सारिएको जानकारी दिए । ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारालाई समर्थन गर्दै नागरिकतासम्बन्धी विषयमा उदार दृष्टिकोण अपनाउने प्रतिबद्धता जनाए । साथै, सर्वोच्च अदालतको आदेशअनुसार भविष्यमा विदेशबाटै मतदानको अधिकार सुनिश्चित गर्न पहल गरिने बताए ।
विदेशमा रहेका नेपालीको मन र पुँजी स्वदेशसँग जोड्ने उद्देश्यले ‘जीडीपीपी’ अवधारणा अघि सारिएको उनले उल्लेख गरे । सरकार, डायस्पोरा र निजी क्षेत्रको सहकार्यमा ठूला परियोजना अघि बढाइने पनि उनले बताए ।




