आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

by समतल अनलाइन
57Shares

काठमाडौँ । हाल देशको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहेको छ। देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली छ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो तराईका केही स्थानमा बिहान हुस्सु लाग्ने सम्भावना छ। कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागसहित अन्य हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराईमा भने मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थान तथा अन्य प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने ती प्रदेशका पहाडी भू-भागसहित अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

You may also like