रुपन्देही । अस्पतालको व्यस्त ओपिडी र बिरामीको सेवामा चौबीसै घण्टा रमाउने वरिष्ठ न्युरोलोजिस्ट डाक्टर लेखजंग थापा अचेल रुपन्देहीका सडक र बस्तीहरूमा भेटिन्छन्। स्टेथस्कोप र सेतो एप्रोन छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ को उम्मेदवार बनेका थापा गत फागुन ४ गतेदेखि निरन्तर जनताको घरदैलोमा छन्। यस क्षेत्रका ३६ वडामध्ये २९ वटा वडाको यात्रा पूरा गरिसक्दा उनको अभियानले एउटा छुट्टै मानवीय र राजनीतिक रङ लिएको छ।

विशेष गरी विपन्न र पिछडिएका बस्तीहरूमा पुग्दा उनले पाएको स्वागत कुनै उत्सवभन्दा कम छैन । पुराना राजनीतिक दलहरूप्रति चरम वितृष्णा जागेका ठाउँमा पनि ‘घण्टी’ को टोली पुग्दा स्थानीयहरू उत्साहका साथ निस्कने गरेका छन्। सियारी गाउँपालिका वडा नं. २ का रामचन्द्र कहारको आक्रोश र आशा यसको एउटा उदाहरण हो। उनी भन्छन्, “हामीले वर्षौंसम्म पुराना दलहरूलाई पटक–पटक हेर्यौँ, तर देशमा भ्रष्टाचार र बेथितिबाहेक केही फेरिएन। अब हामीलाई पुराना अनुहार र पुरानै कार्यशैली होइन, देशको माया गर्ने र काम गरेर देखाउने नयाँ र युवा नेतृत्व चाहिएको छ। त्यसैले यसपालि घण्टीकै उम्मेदवारलाई मतदान गर्छौं।”
यस्तै भावना सिद्धार्थनगर नगरपालिका वडा नं. ९ निवासी सावित्रीदेवी केसीको पनि छ। उनी डाक्टर थापा जस्तो बौद्धिक व्यक्तित्व राजनीतिमा आउनुलाई सुखद मान्दै भन्छिन्, “यसपालि आफ्नो क्षेत्रबाट लेखजंग थापा जस्ता उम्मेदवारलाई जिताएर देशमा विकास र रोजगारीको वातावरण बनोस् भन्ने हाम्रो चाहना हो।”
तर, मतदाताका अपेक्षा केवल ठूला र नीतिगत कुरामा मात्र सीमित छैनन्। सियारी वडा नं. ६ निवासी लक्ष्मी भण्डारीको अनुभवले राज्यको उपस्थितिको अभावलाई अझ प्रष्ट पार्छ। उनी भन्छिन्, “बाढीपीडितका दुःख हुन् वा विदेशमा ज्यान गुमाएर शव ल्याउन नसकी रोइरहेका परिवार, उनीहरूको उद्धार र सही सल्लाह दिने कोही भएन। गाउँमा सामान्य माटेको (जुकाको) औषधि खोज्दा समेत पाइँदैन। बजेट त आउँछ भन्छन्, तर ६ महिनामै सकिन्छ, बाँकी समय रित्तो हुन्छ।” भण्डारीका अनुसार नयाँलाई एकपटक ‘चान्स’ दिनुको विकल्प छैन, किनकि पुरानाले जनताका यी आधारभूत पीडा कहिल्यै बुझेनन्।
यसपटकको निर्वाचनमा ‘बालेन शाह’ को प्रभाव पनि निर्णायक देखिएको छ। सिद्धार्थनगर-९ की सिमा सुनार भन्छिन्, “हामी सबै पुराना पार्टीहरूबाट आजित भइसक्यौँ। हामी बालेन शाहको समर्थक हौँ। बालेन यहाँबाट नउठे पनि नयाँ आउनेहरू एउटै विचार र धारका हुन् भन्ने हाम्रो बुझाइ छ। नयाँले केही गर्छन् कि भन्ने आशामा हामीले डाक्टर थापालाई रोजेका हौँ।” उनी थप्छिन्, “गर्छन् कि गर्दैनन् भन्ने त काम हेरेपछि थाहा हुन्छ, तर पढेलेखेका नयाँ मान्छे आउँदा केही त परिवर्तन होला नि !”
अभियानका क्रममा झण्डै ९० प्रतिशत मतदाताबाट आफूले अपार माया प्राप्त गरेको डाक्टर थापा बताउँछन्। उनी भन्छन्, “जनताले मागेका कुराहरू कुनै आकाशका तारा होइनन्। उनीहरूले केवल गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य र स्थानीय स्तरमै रोजगारी जस्ता आधारभूत अधिकार मागेका छन्। यी सेवाहरू जनताको नैसर्गिक अधिकार हुन् र यसका लागि पाँच वर्षको कार्यकाल पनि धेरै हुन्छ।” डा. थापाले अघि सारेको कार्ययोजना’ ले मतदातामा एउटा नयाँ आशा र भरोसाको सञ्चार गरेको छ।
अन्ततः, रुपन्देहीका मतदाताले यो निर्वाचनलाई केवल उम्मेदवार छान्ने माध्यम मात्र होइन, समग्र देश र पद्धति परिवर्तनको अवसरका रूपमा लिएका छन्। डाक्टर थापाको टोली अब बाँकी वडाहरूमा पनि यही उत्साहका साथ पुग्ने तयारीमा छ। मतदाताको यो आत्मीयता र डाक्टरको समृद्धिको संकल्पले यसपटकको निर्वाचन परिणाम कता मोडिने हो, त्यो भने प्रतीक्षाकै विषय बनेको छ।




