४४ औँ मगर दिवस तीन दिने कार्यक्रमसहित बुटवलमा मनाइने

by समतल अनलाइन
31Shares

नेपाल मगर संघ बुटवल उपमहानगर समितिले विविध कार्यक्रम गरी ४४ औं मगर दिवस मनाउँने भएको छ ।

मगर समुदायको मौलिकता, पहिचान र अधिकारका सवाललाई उजागर गर्दै नेपाल मगर संघ बुटवल उपमहानगर समितिले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी तीन दिने कार्यक्रमका साथ दिवस मनाउन लागेको जानकारी गराएको हो । २०३९ साल फागुन १५ गते सम्पन्न मगर समुदायको पहिलो राष्ट्रिय सम्मेलनको स्मरणमा हरेक वर्ष फागुन १५ गते ‘मगर दिवस’ मनाउने गरिन्छ । सोही अवसरमा यस वर्ष पनि समुदायको भाषा, संस्कृति, इतिहास र पहिचान संरक्षणका विषयलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष थर्कबहादुर बारघरेले बताए ।

लुम्बिनी प्रदेशमा मगर समुदायको उल्लेखनीय उपस्थिति रहेकाले भाषा तथा साँस्कृतिक संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने माग गरिएको छ । मगर भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गर्ने व्यवस्था, विद्यालय तहमा मगर भाषामा शिक्षा सञ्चालनको सहज वातावरण, समावेशी सिद्धान्तको प्रभावकारी कार्यान्वयनलगायत विषयमा जोड दिइएको छ । साथै, फागुन १५ गते सार्वजनिक बिदाको व्यवस्था गर्नुपर्ने मागसमेत अघि सारिएको छ । दिवसको अवसरमा फागुन १५ गते बिहान बुटवलमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ । त्यसैगरी सोही दिन दीपप्रज्वलन तथा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।

फागुन १६ गते सरसफाइ कार्यक्रम तथा सामुदायिक भेटघाट कार्यक्रम राखिएको छ भने फागुन १७ गते मूल समारोह गरिनेछ । आयोजक समितिका अध्यक्ष लुमबहादुर रानामगरले मगर समुदायको एकता, पहिचान संरक्षण र समावेशी राष्ट्र निर्माणका लागि दिवस महत्वपूर्ण अवसर भएको बताउँदै सम्पूर्ण समुदाय, बुद्धिजीवी, पत्रकार तथा सरोकारवालालाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गरेका छन् । मगर दिवसलाई केवल सांस्कृतिक उत्सवका रूपमा नभई समुदायका हक–अधिकार, भाषा र पहिचानका सवालमा बहस र सचेतना अभिवृद्धि गर्ने अवसरका रूपमा मनाइने संघले जनाएको छ ।

You may also like

This will close in 0 seconds