रुपन्देही–३ मा सुशिलका प्राथमिकता ः सुशासन र विकास

by समतल अनलाइन
74Shares

बुटवल । आसन्न प्रतिनीधि सभाको निर्वाचन नजिकिँदै जादा मतदातालाई आफ्नो पक्षमा पार्नको लागि उम्मेद्वार र दलका नेताहरुको दौडधुप चलिरहेको छ । सुशासन र विकासलाई विशेष प्राथमिकता दिएका नेपाली काँग्रेसको तर्फबाट रुपन्देही ३ का उम्मेद्वार सुशिल गुरुङ पनि आफ्ना विकास योजना मतदाताको विचमा राख्ने र मत माग्ने काममा व्यस्त छन् ।

उनले “राम्रुन्त नेपाल, सम्मानित नेपाली” भन्ने नारासहित पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखेका छन् । गुरुङले भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा नियमित सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, लुम्बिनी क्षेत्रको समग्र विकासलाई केन्द्रमा राख्दै पर्यटनमैत्री पूर्वाधार निर्माण, सीमा नाका व्यवस्थापन तथा विशेष आर्थिक क्षेत्र (सेज) लाई प्रभावकारी बनाउने योजना अघि सारेका छन् ।

सिद्धार्थनगर नगरपालिकाको फोहोर व्यवस्थापन, अव्यवस्थित पार्किङ समस्या समाधान, अधुरा पूर्वाधार आयोजना सम्पन्न गर्ने तथा औद्योगिक क्षेत्रको विस्तारमार्फत रोजगारीका अवसर सिर्जना गर्ने उनको योजना छ । स्थानीय उत्पादनको बजारीकरण, आधुनिक कृषि बजार स्थापना, सिँचाइको व्यवस्था र किसानलाई उन्नत बीउ–मल सहज उपलब्ध गराउने पनि प्रतिबद्धता गरेका छन् ।

शिक्षातर्फ विद्यालयहरूमा प्राविधिक शिक्षा विस्तार गरी युवालाई सीपयुक्त बनाउने, प्रत्येक पालिकामा नमूना विद्यालय स्थापना गर्ने तथा सरकारी प्राविधिक इन्स्टिच्युट निर्माण गर्ने योजना अघि सारिएको छ । युवालाई उद्यमशीलता विकासका लागि स्टार्टअप फन्ड सञ्चालन, वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप उपयोग गर्ने कार्यक्रमसमेत समावेश गरिएको छ । धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन, लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक–पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने तथा खेलकुद पूर्वाधार निर्माणमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य पनि गुरुङले राखेका छन् ।

त्यस्तै, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, अल्पसंख्यक तथा पछाडि परेका समुदायको अधिकार सुनिश्चित गर्दै समावेशी विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई विशेष जोड दिँदै जनताका आवाजलाई प्रतिनिधिसभामा प्रभावकारी रूपमा उठाउने उनले बताएका छन् ।

गुरुङले क्षेत्रको अव्यवस्थित बसोबास तथा सुकुम्बासी समस्या समाधान, सडक स्तरोन्नति, खानेपानी विस्तार, रिङरोड निर्माण तथा सामाजिक पूर्वाधार सुदृढीकरणमा विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन् । समग्रमा विकास, रोजगारी, सुशासन र समावेशी नीतिलाई आधार बनाएर अगाडि बढेका काँग्रेस उम्मेद्वार गुरुङ मतदाताले दिएको न्याँनो मायाँले उत्साहित बनेका छन् ।

You may also like

This will close in 0 seconds