काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको निष्पक्षता सुनिश्चित गर्न शैक्षिक संस्थासँग सम्बद्ध प्राध्यापक, शिक्षक र कर्मचारीहरूलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन चेतावनी दिएको छ।

आयोगले केही शिक्षक र कर्मचारी राजनीतिक दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको उजुरी प्राप्त भएको जनाएको छ।
शिक्षा ऐन, २०२८ र निर्वाचन आचारसंहिता, २०८२ अनुसार, शिक्षक वा कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न वा आफ्नो पदको साधन प्रयोग गर्न नपाउने स्पष्ट व्यवस्था छ।
निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले भने, ‘आचारसंहिताको उल्लङ्घन गरेको पाएमा दफा ४८ बमोजिम कानुनी कारवाही हुनेछ।’
यसका साथै आयोगले जिल्ला स्तरमा अनुगमन समिति, निर्वाचन अधिकृत र सम्बन्धित कार्यालयमार्फत् अनुगमन गर्ने तयारी रहेको जनाएको छ।
आयोगले निर्वाचनको स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता र भयमुक्त वातावरण कायम राख्न सबै सरोकारवाला पक्षलाई आचारसंहिता पालना गर्न आग्रह गरेको छ।




