बुटवल। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले अहिलेको निर्वाचन अपरिहार्य भए पनि यसले मात्र मुलुकको संकट समाधान नहुने बताएका छन्।

शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यो निर्वाचन नेपाली जनताले प्रत्यक्ष रूपमा चाहेको भन्दा पनि संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाको असाधारण परिस्थितिका कारण अपरिहार्य बनेको बताए।
भुसालले मुलुकले विगतमा सामना गरेका विध्वंशकारी घटनाबाट गम्भीर शिक्षा लिनुपर्नेमा जोड दिए। तर ती घटनाबाट पाठ सिकेर राष्ट्रिय संकल्प गर्नुपर्ने बेलामा पुनः निर्वाचनमा जाने तयारीले मूल समस्या लुकाउने काम मात्र गरेको उनको भनाइ थियो।
उनले राजनीतिक दलहरूको कमजोरी र नालायकीपनलाई इमान्दारीपूर्वक स्वीकार गरी सुधारतर्फ अग्रसर हुनुपर्ने बताए। तर त्यसतर्फ नलागी सतही समाधान खोज्दा मुलुकले अवसर गुमाउँदै गएको उनले उल्लेख गरे।
भुसालका अनुसार यथार्थ छानबिन र सुधारका लागि बनेका आयोगहरू पनि प्रभावकारी हुन नसकेको टिप्पणी गरे। उनले मुलुक भूराजनीतिक दबाबमा परेको सानो राष्ट्रका रूपमा अझ कमजोर बन्दै गएको चेतावनी दिए।
निर्वाचनपछि पनि पुरानै प्रवृत्ति दोहोरिने खतरा रहेको भन्दै उनले परनिर्भर विकास मोडेलले रोजगारी सिर्जना गर्न नसक्ने, विचौलिया तन्त्र बलियो बन्ने र सुशासन कमजोर हुने बताए।
उनले राजनीतिलाई ‘घरेलुकरण’ गर्नुपर्नेमा जोड दिँदै पश्चिमेली मोडेलको अन्धानुकरणबाट मुक्त भएर नेपाली समाज, अर्थतन्त्र र आवश्यकता अनुरूपको बाटो खोज्नुपर्ने धारणा राखे।
मुलुकको मूल समस्या परनिर्भर विकास, दलाल पुँजीवाद र विचौलिया तन्त्र भएको उल्लेख गर्दै उनले बौद्धिक वर्ग तथा राजनीतिकर्मीलाई गम्भीर बहस र वैकल्पिक मार्ग खोज्न आह्वान गरे।
भुसालले निर्वाचनलाई लोकतान्त्रिक प्रक्रियाको सौभाग्यका रूपमा स्वीकार गरे पनि यसले मात्र संकटको निकास नदिने भन्दै गहिरो पुनर्विचार आवश्यक रहेको बताए।




