नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर २ ले चुनावी प्रतिवद्धता सार्वजनिक

by समतल अनलाइन
73Shares

बुटवल । प्रतिनिधिसभा निर्वाचन(२०८२ नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रुपन्देही निर्वाचन क्षेत्र नं. २ का लागि चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । उम्मेदवार विष्णुप्रसाद पौडेलको नेतृत्वमा सार्वजनिक गरिएको घोषणापत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा शहरी पूर्वाधार, उद्योग÷व्यापार, कृषि, पर्यटनदेखि सुशासनसम्मका बहुआयामिक योजना समेटिएका छन् ।

पार्टीले संविधानको रक्षा, सामाजिक न्याय, समानता र सुशासनमार्फत रुपन्देहीलाई देशकै अग्रणी आर्थिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। घोषणापत्रमा भौतिक तथा मानवीय विकासलाई समानान्तर रूपमा अघि बढाइने उल्लेख छ ।

शिक्षा क्षेत्र सुधारका लागि व्यापक योजना:

एमालेले रुपन्देहीलाई विद्यालय र उच्च शिक्षाको प्रमुख केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेको छ । यसअन्तर्गत विद्यालय तथा कलेजको भौतिक पूर्वाधार विस्तार, दक्ष जनशक्ति व्यवस्थापन तथा गुणस्तरीय शिक्षा सुनिश्चित गरिने उल्लेख छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको क्षमता विस्तार गरी स्वदेशी तथा विदेशी विद्यार्थी आकर्षित गरिने तथा नेपाल विश्वविद्यालय स्थापना गर्न आवश्यक सहयोग गरिने जनाइएको छ । त्यस्तै लुम्बिनी वाणिज्य क्याम्पसलाई व्यवस्थापन तथा सूचना प्रविधि विषयको विश्वविद्यालयमा रूपान्तरण गर्ने लक्ष्य लिइएको छ ।

बुटवल मेडिकल कलेजको पूर्वाधार निर्माण तथा सञ्चालन, बुटवल बहुमुखी क्याम्पसको स्तरोन्नति, विभिन्न सामुदायिक क्याम्पसमा शैक्षिक भवन तथा छात्रावास निर्माण गर्ने योजना पनि प्रतिबद्धता पत्रमा समेटिएको छ । साथै कृषि र इन्जिनियरिङ क्याम्पस स्थापना गर्ने र प्राविधिक शिक्षालाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।

स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने लक्ष्य:

स्वास्थ्य क्षेत्रमा रुपन्देहीका नागरिकलाई उपचारका लागि राजधानी धाउन नपर्ने गरी गुणस्तरीय सेवा उपलब्ध गराउने एमालेको प्रतिबद्धता छ । लुम्बिनी प्रादेशिक अस्पतालको पूर्वाधार निर्माण पूरा गरी उपकरण र जनशक्ति व्यवस्थापन गरिने उल्लेख गरिएको छ ।

सैनामैना, तिलोत्तमा लगायतका क्षेत्रमा आधारभूत अस्पताल तथा स्वास्थ्य केन्द्रको स्तरोन्नति, आयुर्वेद तथा प्राकृतिक चिकित्सा सेवाको विस्तार तथा सामुदायिक अस्पतालहरूको क्षमता वृद्धि गर्ने योजना सार्वजनिक गरिएको छ ।

स्वास्थ्य बीमामार्फत सर्वसुलभ सेवा सुनिश्चित गर्ने तथा निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराउने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

रोजगारी र स्वरोजगार सिर्जनामा जोड:

एमालेले सूचना प्रविधिमा आधारित रोजगारी सिर्जना गर्ने, सफ्टवेयर विकास, डाटा साइन्स, क्लाउड कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका क्षेत्रमा उद्योग सञ्चालन गर्न सहुलियत ऋण उपलब्ध गराउने जनाएको छ ।

युवाहरूका लागि स्टार्टअप कोष स्थापना, सीप विकास तालिम, स्वरोजगार कार्यक्रम तथा विदेशबाट फर्केका युवाको सीप र पूँजीलाई उत्पादन क्षेत्रमा प्रयोग गर्ने योजना पनि सार्वजनिक गरिएको छ । साथै अध्ययनसँगै काम गर्ने अवसर सिर्जना गर्ने कार्यक्रम ल्याइने उल्लेख गरिएको छ ।

सडक, पुल र यातायात पूर्वाधार विस्तार:

प्रतिबद्धता पत्रमा सिद्धार्थ राजमार्गको बुटवल(पोखरा खण्ड स्तरोन्नति गर्ने, बुटवल(नारायणगढ सडक विस्तार, विभिन्न स्थानमा पुल निर्माण तथा स्थानीय सडक सञ्जाल विस्तार गर्ने योजना समेटिएको छ ।

तिलोत्तमा, सैनामैना तथा अन्य नगर क्षेत्रमा सडक स्तरोन्नति, लिंक रोड निर्माण तथा सुरक्षित यातायात व्यवस्थापनलाई प्राथमिकता दिइने जनाइएको छ ।

शहरी विकास र आधुनिक पूर्वाधार निर्माण:

बुटवल, तिलोत्तमा र सैनामैनालाई समेटेर ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास कार्यक्रम’ सञ्चालन गरी आधुनिक शहरी पूर्वाधार निर्माण गर्ने एमालेको योजना छ ।

यसअन्तर्गत सडक, ढल, पार्क, पुल, फुटपाथ, वृद्ध विश्राम स्थल, पार्किङ तथा स्मार्ट बसपार्क निर्माण गरिने उल्लेख गरिएको छ । साथै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा ल्याइने योजना पनि सार्वजनिक गरिएको छ ।

उद्योग, व्यापार र लगानी प्रवर्द्धन:

औद्योगिक क्षेत्र विस्तार, निजी लगानी आकर्षित गर्ने वातावरण निर्माण, बुटवल औद्योगिक क्षेत्रको स्तरोन्नति तथा एकीकृत जाँच चौकी सञ्चालन गर्ने योजना एमालेले अघि सारेको छ ।

व्यापारिक क्षेत्रको पुनःव्यवस्थापन, यातायात क्षेत्र सुधार तथा लगानीमैत्री वातावरण निर्माण गरी उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्य पनि उल्लेख गरिएको छ ।

कृषि क्षेत्र आधुनिकीकरणमा विशेष ध्यान:

कृषि उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, आधुनिक प्रविधि प्रयोग गर्ने, किसानलाई तालिम, ऋण र बजार पहुँच उपलब्ध गराउने योजना पनि प्रतिबद्धता पत्रमा समावेश गरिएको छ ।

समृद्ध रुपन्देही निर्माण गर्ने लक्ष्य:

एमालेले प्रतिबद्धता पत्रमार्फत रुपन्देही निर्वाचन क्षेत्र नं। २ लाई शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग, पूर्वाधार र कृषि विकासको नमुना क्षेत्र बनाउने लक्ष्य लिएको जनाएको छ । पार्टीले यी कार्यक्रम कार्यान्वयनमार्फत समृद्ध, आधुनिक र आत्मनिर्भर समाज निर्माण गर्ने दाबी गरेको छ ।

You may also like

This will close in 0 seconds