बुटवल।आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै घरदैलोमा पुगेका उम्मेदवारलाई जनताले आफ्ना साना–साना समस्याहरु सुनाएका छन् । उनीहरुले आफ्नो टोलको बाटोघाटो,टोलमा बत्ति, सरसफाइ, रोजगारी सिर्जना, सुकुम्बासी समस्या समाधान लगायतका समस्याहरु समाधानको प्रतिबद्धता खोजेका छन् । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल र समानुपातिक उम्मेदवार रिता सेन ओली यतिबेला टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् ।

अभियानको चौथो दिन बिहिबार सैनामैना नगरपालिका वडा नम्बर ४ र २ का विभिन्न टोलमा घरदैलो कार्यक्रमका क्रममा जनताले गुनासो सुनाउदै समस्याहरुको समाधान गर्न आग्रह गरेका हुन् । घरदैलो अभियान पहिलो चरणमा मुर्गिया बजारबाट सुरु भएको थियो । त्यहाँबाट पुकारबाल्टी हुँदै अस्नैयाडाँडा, राधाकृष्ण टोल, प्रगति टोल, शान्तिटोल, सिसौडाँडा, रन्यौरा, झारबैरा हुँदै लुम्बिनी रोड र नापी क्षेत्रसम्म पुगिएको थियो ।त्यसैगरी घरदैलोका क्रममा स्थानीय बासिन्दाले आफ्ना विभिन्न समस्या उम्मेदवारसमक्ष राखेका थिए ।
स्थानीयले आफ्नो क्षेत्रमा नापी भएर पनि सुकुम्बासी समस्या समाधान नभएको, लालपुर्जा हातमा भएकाहरुको पनि जग्गासम्बन्धी झन्झट कायम हुँदा समस्या बेर्हाेनुपरेको गुनासो सुनाए ।
कतिपय स्थानमा बाटोघाटो समयमै निर्माण नभएको र सैनामैनाको मूल समस्या सुकुम्बासी समस्या सम्बन्धि रहेको स्थानीयको भनाइ छ । त्यस्तै, वडा नम्बर २ अन्तर्गत झारबैरा, खकनपुर, कालिका टोल, सोरौली हुँदै रानीबगियासम्म पुग्दा मतदाताले शैक्षिक स्तर सुधार, सुकौली खोलाको तटबन्ध निर्माण, समयमै सडक पिच नहुनु, ढल निकासको समस्या लगायतका विषय उठाएका थिए ।उनीहरुले यसअघि निर्वाचित सांसद तथा जनप्रतिनिधिले आफुहरुका गुनासा र समस्याहरु समाधान गर्न नसकेको बताए ।
कांग्रेस उम्मेदवारहरूले रुपन्देही क्षेत्र नम्बर २ मा घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।
उम्मेदवार पौडेलले घरदैलोका क्रममा आफू निर्वाचित भएपछि स्थानीयस्तरका यस्ता समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाली कांग्रेस नेतृत्वमै स्थायित्व र विकास सम्भव रहेको विश्वास व्यक्त गर्दै प्रत्येक टोल–टोलका समस्या पहिचान गरी योजनाबद्ध ढंगले काम गर्ने बताए । पौडेलले ५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने संकल्प समेत जनताका बिचमा गरेका छन् । उनले यो प्रतिज्ञा पूरा गर्न कांग्रेसले के–के गर्ने भन्ने बिषय घोषणापत्रमा उल्लेख गरिएको पनि बताए । उनले जनताको समस्या नै हाम्रो पहिलो प्राथमिकता रहेको बताउदै सैनामैनामा देखिएका सुकुम्बासी, सडक, शिक्षा र तटबन्ध जस्ता विषयलाई योजनाबद्ध रूपमा अघि बढाउनेछौं उनले भने ।समानुपातिक उम्मेदवार रिता सेन ओलीले महिला, बालबालिका र सीमान्तकृत समुदायका मुद्दालाई संसदसम्म पुर्याउने बताइन् । ‘शिक्षा, पूर्वाधार र सुकुम्बासी समस्यामा हामी गम्भीर छौं ,जनताको साथमै रहेर काम गर्नेछौं ।’ यसअघि हिजो बुटवल उपमहानगरपालिका वडा नम्बर ७ र वडा नम्बर १ मा पनि घरदैलो कार्यक्रम गरिएको थियो ।
त्यहाँ पनि स्थानीयसँग भेटघाट गरी विकास, रोजगारी, सडक र ढल निकास लगायतका विषयमा सुझाव तथा गुनासा संकलन गरिएको थियो । घरदैलो कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । शुक्रबार तिलोत्तमा वडा न ५ र वडा न ६ मा घरदैलो गर्ने नेपाली कांग्रेस रुपन्देही क्षेत्र न २ का निर्वाचन परिचालन मूल समितिका संयोजक तथा क्षेत्रीय सभापति प्रजापाल गिरिले जानकारी दिए ।




