मतदाताका सुझाव लिंदै पौडेलको टोलभेला जारी

by समतल अनलाइन
59Shares

बुटवल।एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले सैनामैना नगरपालिका अन्तर्गत विभिन्न वडाहरुमा टोलभेला गर्दै मतदाताका गुनासो सुनेका छन् । त्यसक्रममा मतदाताले राखेका सुझाव र गुनासालाई आफूले सम्बोधन गर्ने प्रतिवद्धता पनि पौडेलले व्यक्त गरेका छन् । उनले बुधबार करिव एक दर्जन स्थानमा विभिन्न टोल भेलामार्फत मतदाताको गुनासो सुनेका थिए ।

उनले बुधबार सैनामैना स्थित पर्रोहा बोलबम धाममा दर्शन गरेर प्रचार अभियानको सुरुवात गरेका थिए । त्यसपछि विभिन्न टोलमा घरदैलो तथा टोल भेला आयोजना गरिएको थियो ।

भेटघाटका क्रममा पौडेलले अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीको समस्या समाधान अन्तिम चरणमा पुग्दा विभिन्न अवरोध खडा गरिएको गुनासो गरे । “समाधानको चरणमा पुगेका कामलाई रोक्ने उद्देश्यले नयाँ सरकारले आयोग खारेज गर्यो, त्यसको विरोधमा मुद्दा परेपछि सर्वोच्चले उक्त निर्णय बदर गरेपछि अव काम अगाडि बढ्ने देखिएको छ, अब त्यसलाई निष्कर्षमा पु¥याइनेछ,” उनले भने ।

आफ्नो पहलमा सैनामैनामा प्राकृतिक चिकित्सालय, पर्रोहा परमेश्वर बोलबध धामको पुनर्निर्माण, सैनामैना चक्रपथ, नगर अस्पताल, ज्येष्ठ नागरिक मिलन केन्द्र तथा सामुदायिक विद्यालयका भवन निर्माण सम्पन्न भएको उनले स्मरण गराए । विद्यालयहरूमा आधुनिक प्रयोगशाला स्थापना गरिएको र प्रदेशस्तरीय फोहरमैला प्रशोधन केन्द्र निर्माण प्रक्रिया पनि आफ्नो नेतृत्वमा अघि बढाइएको उनले बताए ।

त्यसैगरी, सैनामैना–३ गंगानगरको लामीरह क्षेत्रमा बहुउद्देश्यीय जलाशययुक्त बाँध निर्माणका लागि वातावरणीय अध्ययन सम्पन्न भइसकेको र चाँडै ठेक्का प्रक्रिया अगाडि बढ्ने जानकारी दिए । वन संरक्षण, हरियाली प्रवद्र्धन, वन अनुसन्धान केन्द्र विकास तथा आयआर्जन वृद्धि कार्यक्रमलाई प्राथमिकतामा राखिने उनले बताए ।

भेटघाटका क्रममा मतदाताहरूले सडक स्तरोन्नति, सिँचाइ विस्तार, युवाका लागि रोजगारी सिर्जना र खानेपानी व्यवस्थापनलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए । स्थानीयले सुरु भएका विकास योजनालाई निरन्तरता दिन र अधुरा काम समयमै सम्पन्न गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा सहभागीहरूले विगतमा सुरु गरिएका पूर्वाधार विकासका कामलाई सकारात्मक रूपमा लिँदै अब ती योजनाको प्रभावकारी कार्यान्वयन र पारदर्शितामा जोड दिनुपर्ने धारणा राखेका थिए । पौडेलले जनताका सुझावलाई आफ्नो आगामी कार्ययोजनामा समेट्ने प्रतिबद्धता व्यक्त गरे । उनले युवा र विद्यार्थीका समस्यालाई आफूले गहिरोसँग बुझेको भन्दै युवालाई उद्यम र रोजगारसँग जोड्ने र विद्यार्थीलाई गुणस्तरीय शिक्षा आफ्नै गाउँ ठाउँमा प्राप्त गर्ने गरी आफूले काम गर्ने पनि बताए ।

You may also like

This will close in 0 seconds