काठमाडौँ । नेपालले टी-२० विश्वकपमा १२ बर्षपछि पहिलो जित हासिल गरेको छ ।जारी विश्वकपको समुह सी अन्तर्गतको अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई ७ विकेटले पराजित गर्दै १२ बर्षपछि विश्वकपमा पहिलो जित हासिल गरेको हो ।

स्कटल्याण्डले दिएको १७१ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।
नेपालको जितमा दिपेन्द्र सिंह ऐरीले अविजित ५० रन बनाएका थिए । दिपेन्द्रको विश्वकपमा लगातार दोस्रो अर्धशतक हो ।
त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाए भने आसिफ सेखले ३३, गुलशन झाले २४ र कप्तान रोहित पौडेलले १६ रन बनाएका थिए । त्यस्तै स्कटल्याण्डका लागि माइकल लिस्कले ३ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १७० रन बनाएको थियो । स्कटल्याण्डका लागि माइकल जोन्सले सर्बाधिक ७१ रन बनाए भने जर्ज मुन्सीले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए । सोमपालले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै नन्दन यादवले २ विकेट लिएका छन् भने कप्तान रोहित शर्मा र कुशल भुर्तेलले एक एक विकेट लिएका थिए ।
योसँगै नेपाल र स्कटल्याण्डको विश्वकप यात्रा सकिएको छ । दुवैले विश्वकपका आफ्ना ४-४ खेलमा एक एक खेल जितेका छन् भने ३-३ खेलमा हार बेहोरेका छन् ।



