वार्षिकोत्सवसँगै धार्मिक सेवाः चैतन्य एकेडेमी बुटवलद्वारा जलपान वितरण

by समतल अनलाइन
15Shares

बुटवल ।चैतन्य एकेडेमी नेपालको बुटवल शाखाले महाशिवरात्रि तथा आफ्नो १२औँ वार्षिकोत्सवको अवसरमा भक्तजनहरूलाई जलपान एवं प्रसाद वितरण कार्यक्रम सम्पन्न गरेको छ।

बुटवल उपमहानगरपालिका–योगीकुटीमा अवस्थित देवस्थल शिवालय मन्दिरमा दर्शनका लागि आएका भक्तजनहरूलाई लक्षित गर्दै जलपान वितरण गरिएको संस्थाका व्यवस्थापक दीपक ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार महाशिवरात्रिको पावन अवसर पारेर सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तजनहरूको सेवा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा दर्शनार्थी भक्तजनहरूको सुव्यवस्थित व्यवस्थापन गर्नुका साथै उनीहरूलाई दूध, फलफूल, पिउने पानी लगायतका सामग्री प्रदान गरिएको थियो। साथै प्रसाद वितरण गरी भक्तजनहरूको सेवा गरिएको संस्थाले जनाएको छ। मन्दिर परिसरमा दिनभरि भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो भने स्वयंसेवकहरूले अनुशासित र व्यवस्थित ढंगले कार्यक्रम सञ्चालन गरेका थिए।

चैतन्य एकेडेमी बुटवलले वार्षिकोत्सवको अवसर पारेर हरेक वर्ष विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। संस्थाले शिक्षा र सामाजिक सेवालाई सँगसँगै अघि बढाउने उद्देश्यका साथ समुदायसँग सहकार्य गर्दै आएको व्यवस्थापन पक्षले जनाएको छ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग तथा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। त्यसैगरी बुटवलका लेखा अधिकृत सागर पोखरेल, प्राध्यापक शेषकान्त अर्याल लगायत विद्यार्थीहरूले स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए।

चैतन्य एकेडेमी बुटवलले विगत एक वर्षदेखि स्थानीय स्तरमै नासु, खरिदार, शाखा अधिकृत, शिक्षक सेवा, बैंकिङ तथा सुरक्षा निकायसम्बन्धी तयारी कक्षाहरू सञ्चालन गर्दै आएको छ। साथै उपसचिव र सहसचिवसम्मका लागि नमुना परीक्षाहरू सञ्चालन गरी सम्पूर्ण शैक्षिक सेवा प्रदान गर्दै आएको संस्थाले जनाएको छ।

सामाजिक उत्तरदायित्व, धार्मिक आस्था र शैक्षिक गुणस्तरलाई एकसाथ अघि बढाउने लक्ष्यसहित संस्थाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

You may also like