शिक्षकदेखि सफल उद्योगी हुँदै संसदको यात्रामा :चुन्नप्रसाद शर्मा पौडेल

by समतल अनलाइन
14Shares

समयको गतिसँगै धेरै मानिसहरू जन्मन्छन् र हराउँछन्, तर कोही यस्ता हुन्छन् जसले आफ्नो कर्म, दृष्टि र समर्पणले समाजमा अमिट छाप छोड्न सक्छन् । त्यस्तै मध्येका एक व्यक्तित्व हुन्, चुन्नप्रसाद शर्मा पौडेल । बागलुङमा जन्मिए, बागलुङमै हुर्किए र रुपन्देहीको माटोमा भिजेका पौडेलले देश विदेशमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । जसले व्यक्तिगत सफलताभन्दा माथि उठेर समाज, उद्योग र राष्ट्र निर्माणलाई जीवनको ध्येय बनाए ।

वि.सं. २०२२ साल असार २७ गते बागलुङको हुग्दिशिरमा जन्मिएका शर्मा, बाबु पशुपति शर्मा र आमा पार्वती पौडेल शर्माबाट नैतिकता, अनुशासन र कठोर परिश्रमको संस्कार लिएर हुर्किए । प्रारम्भिक शिक्षा गुल्मीको शान्तिपुरबाट सुरु गरे । अध्ययनलाई निरन्तरता दिँदै उच्च शिक्षाका लागि भारतको बनारससम्म यात्रा गरे ।

बनारसको आध्यात्मिक र प्राज्ञिक वातावरणले उनको सोचलाई फराकिलो बनायो । जीवनलाई केवल व्यक्तिगत उन्नतिमा सीमित नराखी समाजप्रति जिम्मेवार बन्नुपर्ने चेतना त्यहीँबाट सशक्त बन्यो । शिक्षा पूरा गरी गाउँ फर्किएपछि उनले २०३८ सालमा गाउँकै विद्यालयमा शिक्षण पेशाबाट जीवनको यात्रा अगाडि बढाए । एक शिक्षकको रूपमा समाजलाई साक्षर र सचेत बनाउने उनको प्रयास प्रशंसनीय रह्यो । करिव ४ वर्षको अध्यापनपछि उनले बुझे, राष्ट्र निर्माणमा आर्थिक सशक्तिकरणको भूमिका अझ व्यापक छ । त्यसपछि भने उनले उद्योग–व्यवसायमा पाइला टेके ।

२०४९ सालमा रुपन्देहीको संगमपथमा सानो पसलबाट सुरु गरेको यात्रा आज बहुआयामिक व्यावसायिक समूहमा परिणत भएको छ । उनले यशोदा फूड प्रोडक्स उद्योगबाट उत्पादित विभिन्न ब्राण्डका नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय पहिचान दिलाएका छन् । बुटवल हस्पिटल प्रा.लि. मार्फत स्वास्थ्य सेवामा पहुँच विस्तार गरिएको छ भने ह्यात प्यालेस (५ तारे होटल) जस्ता परियोजनाले यस क्षेत्रको पर्यटन विकासमा योगदान पुगेको छ । आज उनका उद्योगहरूमा ५ हजार भन्दा बढी नेपालीले रोजगारी पाएका छन् । हजारौँ परिवारको चुलो बाल्ने आधार बन्नु उनको व्यवसायको सबैभन्दा ठूलो उपलब्धि मानिन्छ । त्यस्तै उनीसंग हजारौं व्यवसायिक सारथी छन् । शर्माको व्यक्तित्व केवल उद्योगीको रूपमा सीमित छैन ।

महामारी, प्राकृतिक विपत्ति वा सामाजिक संकटका बेला उनले अग्रपंक्तिमा रहेर सहयोग पु¥याएका छन् । स्वास्थ्य क्षेत्रमा एम्बुलेन्स सहयोगदेखि विभिन्न राहत कार्यक्रमसम्म उनका पहलहरूले मानवीय संवेदनशीलता देखाउँछन् । उनका लागि व्यवसाय केवल नाफाको माध्यम होइन, समाजसेवाको आधार हो । यही सोचले उनलाई समाजमा विश्वसनीय र लोकप्रिय बनाएको छ । ‘चुनप्रसाद शर्मा पौडेल’ विकास र समृद्धिको स्पष्ट दृष्टिकोणसहित सार्वजनिक जीवनमा सक्रिय छन् । उनलाई विश्वास छ, ‘उद्योगले हजारौंलाई रोजगारी दिन सक्छ, तर सही नीतिले सिंगो देशको भविष्य बदल्न सक्छ ।’ उनको प्राथमिकता स्थानीय उत्पादनको प्रवद्र्धन, स्वदेशमै रोजगारी सिर्जना, युवा उद्यमशीलताको विकास र पारदर्शी शासन व्यवस्था हो । उनी महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने र युवालाई विदेश पलायनभन्दा स्वदेशमै सम्भावना खोज्न प्रेरित गर्ने पक्षमा दृढ छन् । २०४० सालमा उमादेवी शर्मासँग वैवाहिक जीवनमा बाँधिएका शर्मा हाल बुटवल उपमहानगरपालिका–११ का स्थायी बासिन्दा हुन् ।

छोराछोरी प्रशन्न, प्रशान्त र प्रतिमा सहित उनी पारिवारिक मूल्य र एकतालाई जीवनको मूल शक्ति मान्छन् । परिवारभित्रको मेलमिलाप र सहकार्य नै समाजप्रतिको ठूलो जिम्मेवारी सम्हाल्न आत्मविश्वास दिने आधार भएको उनी बताउँछन् । चुनप्रसाद एक साधारण परिवेशबाट उठेर असाधारण उपलब्धि हासिल गर्ने व्यक्तित्व हुन् । शिक्षण, उद्योग, समाजसेवा र सार्वजनिक जीवन, यी सबै क्षेत्रमा उनले कर्म, इमानदारी र दृष्टिकोणको समन्वय प्रस्तुत गरेका छन् । उनको जीवनकथा केवल व्यक्तिगत सफलताको कथा होइन, सम्भावनाको कथा हो, जहाँ परिश्रम, प्रतिबद्धता र सकारात्मक सोचले परिवर्तन सम्भव हुन्छ भन्ने सन्देश दिन्छ ।

नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहेका उनै चुन्नप्रसादलाई आसन्न प्रतिनीधि सभा निर्वाचनमा काँग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उम्मेद्वार बनाएको छ । सबैसंग मिलनसार र सरल स्वभावका चुन्नप्रसाद भन्छन्– ‘म कुनै दलमा आस्थावान भएपनि सामाजिक तथा व्यवसायिक जीवनमा कसैलाई विभेद गरेको छैन, यो निर्वाचनमा पनि सबैको साथ र सहयोग प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु ।’ उनलाई नेपाली काँग्रेसले मात्रै होईन, सबै दलमा आस्था राख्नेले दिएको सद्भाव र समर्थनले संसद छिर्ने बाटो सहज बनाईदिएको विश्वेषण गर्न सकिन्छ ।

You may also like