काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेशको निर्वाचन परिणामलाई नेपालमा पनि यस्तै हुने बताएका छन् । उनले बंगलादेशका निर्वाचन विजेताहरूलाई बधाई र शुभकामना समेत दिएका छन् ।

आइतबार काठमाडौँबाट आफ्नो निर्वाचन क्षेत्र झापा ५ आउने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै ओलीले नेपालका चुनावी परिणाम पनि बंगलादेशकै जस्तो हुने बताए । पत्रकारले सामाजिक सञ्जालमा पपुलर व्यक्तिहरूको पराजय र आन्दोलनपछि उदाएको दलको सीट संख्या कम भएका घटनालाई लिएर जिज्ञासा राखेका थिए ।
ओलीले भने, ‘अझै पनि चुनावको लागि ढुक्कको वातावरण तयार भएको छैन। पार्टी चुनावको तयारीमा लागेको छ, तर ढुक्कको वातावरण बनेको छैन ।’
यसअघि, ओलीले झापा-५ का कमल, गौरादह र गौरीगञ्ज क्षेत्रका मतदातासँग भेट गरेका थिए । उनले यसपटक दमकमा केन्द्रित हुने र अधिकांश मतदातासँग प्रत्यक्ष भेट गर्ने बताएका छन् ।
उनले सरकारलाई चुनावको वातावरणका बारेमा थप जानकारी हुनुपर्ने भन्दै ‘चुनावको वातावरण सरकारले बुझ्नुपर्ने कुरा हो, हामीले हेर्दा अझै त्यस्तो वातावरण तयार भएको जस्तो देखिँदैन।’ उनले भने ।
चुनावी अभियानका क्रममा उनले सकेसम्म सबै ठाउँमा पुग्ने योजना बनाएको बताए ।



