लुम्बिनी प्रादेशिक अस्पतालका २ सय बढी स्वास्थ्यकर्मी तथा कर्मचारीलाई उत्पेरणा तालिम

by समतल अनलाइन
69Shares

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत २ सय बढी स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई शनिबार उत्पेरणामूलक अभिमुखिकरण सम्पन्न भएको छ । अस्पतालको ११५ औँ वार्षिकोत्सवको सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत कर्मचारीहरुलाई उत्पेरणा तालिम सम्पन्न गरिएको हो ।

सो अवसरमा बोल्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको मेहनत र पसिनाले अस्पतालको गरिमालाई कायम राख्न सकिएको बताए । ठूला भवन, सुविधासम्पन्न संरचना र उपकरणले मात्रै स्वास्थ्य सेवा पूर्ण नहुने बताउँदै उनले त्यसका लागि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको लगनशिलता महत्वपूर्ण हुने उल्लेख गरे ।

यसैगरी अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले आफ्नो जिम्मेवारीलाई आत्मसाथ गरेर कर्ममा लाग्न स्वाथ्यकर्मी तथा कर्मचारीहरुलाई आग्रह गरे । मानिसलाई जीवन दिने दोसो भगवानको रुपमा चिकित्सक पेसा भएको बताउँदै उनले उक्त गरिमा र कर्तव्यलाई सधै ध्यान राखेर सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए । अस्पतालप्रति जनताको भरोसालाई कायम राख्नका लागि यहाँ कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको व्यवहार र कर्तव्य पालनको पक्ष महत्वपूर्ण रहने बताए ।

कार्यक्रममा मानव सेवा आश्रमका मोटिभेश्नल स्पिकर रामजी अधिकारीले सहजीकरण गरेका थिए । उनले मावन सेवा, जीवन र मानव समाजको बोमा व्याख्या गर्दै उत्पेरणा प्रदान गरेका थिए । दैनिक स्वास्थ्य सेवामा व्यस्त रहँदा आफ्नो दैनिक जीवनको व्यवस्थापन, मानसिक तनाव व्यवस्थापनको उपाय लगायत विषयमा उनले जानकारी गराएका थिए ।

अस्पतालले हरेक वर्ष फागुन १५ गते मनाउँदै आएको वार्षिकोत्सव अन्तरगत यस वर्ष पनि विभिन्न अतिरिक्त क्रियाकलापसहित सप्ताहव्यापी मनाएको छ । अस्पतालका स्टाफनर्स विष्णु पन्थीको संयोजकत्वमा शनिबार उत्पेरणा मुलक अभिमुखिकरण सम्पन्न भएको हो । चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफनर्स तथा कर्मचारीहरुसहित करिब ९ सय जना कार्यरत रहेको लुम्बिनी प्रदेशकै ठूलो यस अस्पतालमा वार्षिक साढे ३ लाख बढीले स्वास्थ्य सेवा लिने गर्दछन् ।

वार्षिकोत्सवको अवसरमा कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान, अभिमुखिकरण, रक्तदान तथा फलफूल वितरण, सरसफाई तथा सचेतना कार्यक्रमका साथै स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबीच मैत्रीपूर्ण भलिबल, फुटबल, ब्याटमिन्टन, म्याराथन लगायतका प्रतियोगिताहरु आयोजना गरिएको अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले जानकारी दिए ।

You may also like