बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाउने भएको छ। स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले नगर क्षेत्रमा सप्ताहव्यापी सरसफाइ अभियान सञ्चालन गरी सम्पन्न गरेको जनाएको छ ।

स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले निर्वाचन आचारसंहिताका कारण यस वर्ष संक्षिप्त तर सन्देशमूलक कार्यक्रममार्फत स्थापना दिवस मनाइने जानकारी दिए । उनले अघिल्ला वर्षहरूमा हासिल गरिएका प्रमुख उपलब्धिहरू स्थापना दिवसको दिन सार्वजनिक गरिने बताए ।
उनका अनुसार “उज्यालो बुटवल” अभियान अन्तर्गत शहरका मुख्य चोक तथा सडक क्षेत्रमा एक सातासम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो । यस अभियानले शहरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दीर्घकालीन लक्ष्यलाई थप मजबुत बनाएको उनले बताए । साथै, उज्यालो शहर निर्माण अभियान अन्तर्गत सरसफाइ, हाईमास्ट बत्ती जडान तथा पूर्वाधार विकासका कामहरू प्रभावकारी रूपमा अगाडि बढाइएको पनि उनले जानकारी दिए ।
नगर प्रमुख पाण्डेयले बुटवल ऐतिहासिक, सांस्कृतिक तथा सभ्यताको महत्वपूर्ण धरोहर बोकेको शहर भएको उल्लेख गर्दै जितगढी किल्ला तथा पुरानो बटौली क्षेत्रका ऐतिहासिक सम्पदाहरूको संरक्षणलाई प्राथमिकतामा राखिएको बताए । उनले बुटवललाई शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित योजनाबद्ध काम भइरहेको स्पष्ट पारे ।
त्यसैगरी, उपप्रमुख साबित्रा आर्यालले शिक्षा, स्वास्थ्य, रोजगारी, महिला उद्यमशीलता तथा महिला सशक्तीकरणलाई नगरको प्रमुख प्राथमिकतामा राखिएको बताइन् । महिलाहरू आर्थिक रूपमा सक्षम भए मात्रै समग्र नगर विकास सम्भव हुने उल्लेख गर्दै उनले महिला लक्षित कार्यक्रमहरू अझ प्रभावकारी बनाइने बताइन् । साथै, शिक्षाको गुणस्तर सुधार तथा पहुँच विस्तारका लागि नगरपालिकाले विशेष पहल गरिरहेको उनले जानकारी दिइन् ।
प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले स्थापना दिवस बुटवलको विकास यात्रा, उपलब्धि तथा भावी योजना समीक्षा गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको बताए । ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि आवश्यक बजेट व्यवस्थापन गरी संरक्षण तथा प्रवर्द्धनका कार्यक्रम सञ्चालन भइरहेको पनि उनले जानकारी दिए ।



