सिद्धबाबा मन्दिरमा महाशिवरात्री मेलाको तयारी पूरा, ६० हजार भक्तजन आउने अनुमान

by समतल अनलाइन
87Shares

बुटवल । महाशिवरात्री पर्वको अवसरमा पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानस्थित सिद्धबाबा मन्दिरमा लाग्ने महाशिवरात्री मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। मन्दिर परिसरलाई आकर्षक रूपमा सजाइएको छ भने भक्तजनलाई सहज र सुरक्षित रूपमा दर्शन गर्ने विशेष व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

सिद्धबाबा मन्दिर विकास समितिले शनिबार पत्रकार सम्मेलन गरी यस वर्षको व्यवस्थापन अघिल्ला वर्षभन्दा थप व्यवस्थित र प्रभावकारी बनाइएको जानकारी दिएको हो। समितिका अध्यक्ष सन्तोषकुमार शेरचनका अनुसार भक्तजनको सहजताका लागि गत वर्षझैँ यस वर्ष पनि टोकन प्रणाली लागू गरिएको छ। भीड व्यवस्थापनलाई प्रभावकारी बनाउन निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याइएको छ।

विशेषगरी वृद्धवृद्धा, गर्भवती महिला, अशक्त तथा असहाय व्यक्तिलाई प्राथमिकताका साथ मूल मन्दिरमै पुगेर पूजाअर्चना तथा दर्शन गर्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ। दैनिक नियमित पूजापाठ सम्पन्न भएपछि बिहान ४ बजेदेखि सर्वसाधारणका लागि दर्शन खुला गरिनेछ।

भक्तजनको सुरक्षा र भीड नियन्त्रणका लागि करिब ५० जना सुरक्षाकर्मी परिचालन गरिनेछन्। त्यस्तै २०० स्वयंसेवक खटाइनेछन् भने १८ वटा सिसी क्यामेरामार्फत मन्दिर क्षेत्रको निगरानी गरिने व्यवस्था गरिएको छ।

यसका अतिरिक्त सरसफाइ, अस्थायी शौचालय, स्वच्छ खानेपानी, सवारी पार्किङ, भण्डारा तथा जुत्ताचप्पल राख्ने स्थानको समेत उचित प्रबन्ध मिलाइएको समितिले जनाएको छ। आपतकालीन अवस्थामा उद्धार तथा स्वास्थ्य सहायता उपलब्ध गराउन आवश्यक समन्वय पनि गरिएको छ।

समितिका अनुसार गत वर्ष महाशिवरात्रीमा करिब ४० हजार भक्तजनले दर्शन गरेका थिए। यस वर्ष भने ६० हजारभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ।

“यस वर्ष दर्शनार्थीको संख्या उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरेका छौँ। त्यसअनुसार सम्पूर्ण तयारी पूरा गरेका छौँ,” अध्यक्ष शेरचनले बताए।

प्रचारप्रसार संयोजक अरबिन्द पाण्डेका अनुसार यस वर्ष भक्तजनलाई सिद्धबाबा सुरुङमार्ग भित्रै लाइन व्यवस्थापन गरिनेछ। यसबाट राजमार्गमा सवारी आवागमन प्रभावित नहुने विश्वास गरिएको छ।
विगतका वर्षमा दर्शन गर्न साढे तीन घण्टासम्म लाइन बस्नुपर्ने अवस्था रहे पनि यस वर्ष साढे दुई घण्टाभित्रै दर्शन गराउने लक्ष्य राखिएको समितिले जनाएको छ।

मेला संयोजक तोया लम्सालका अनुसार दर्शनार्थीको सुविधाका लागि दुई वटा निःशुल्क र नौ वटा सशुल्क बस सेवा सञ्चालन गरिएको छ।

यी बसहरू बुटवलका विभिन्न स्थानहरू—योगीकुटी, कालिकानगर, राजमार्ग चौराहा, अस्पताल लाइन, देवीनगर, शान्ति चोक, मिलनचोक, ट्राफिक चोक, गोलपार्क तथा दोभान–झुम्साबाट सञ्चालन हुनेछन्।

महाशिवरात्रीका अवसरमा शिवपूजन, रुद्राभिषेक, अखण्ड हरिकीर्तन लगायतका धार्मिक कार्यक्रम आयोजना गरिनेछ। समितिले भक्तजनलाई अनुशासित र मर्यादित ढंगले मेला अवलोकन गर्न आग्रह गरेको छ।

You may also like