काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि क्रियाशील सदस्यलाई केन्द्रमा राख्दै ५–५० रणनीतिसहित जिम्मेवारी तोकेको छ। पार्टीका अनुसार प्रत्येक क्रियाशील सदस्यले १० घरपरिवारलाई ‘कन्भिन्स’ गर्ने जिम्मेवारी पाउने छन्, जसमा पाँचजनाको समूहले मिलेर ५० घरपरिवारसम्म पुग्ने योजना बनाइएको छ।

केन्द्रीय निर्वाचन परिचालन समितिको परिपत्रमा भनिएको छ, “पार्टीका क्रियाशील सदस्यहरूले आफ्ना क्षेत्रमा सक्रियतापूर्वक ५० घरपरिवारसँग सम्पर्क राख्दै प्रचार सामग्री पुर्याउने र मतका लागि प्रेरित गर्नेछन्।”
यसैगरी, मतदाता शिक्षा अभियान पनि सदस्यहरूको जिम्मेवारीमा समावेश गरिएको छ। भातृ तथा शुभेच्छुक संस्थालाई डिजिटल प्रचारमा सक्रिय गराउने र वडा तहसम्मका पदाधिकारी तथा सदस्यलाई डिजिटल माध्यमबाट प्रेरित गर्ने व्यवस्था गरिएको छ।
विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूले पनि आफ्ना प्रतिनिधित्व क्षेत्रका लागि समन्वय र प्रचारको जिम्मेवारी पाउनेछन्। कांग्रेसले मानव बेचबिखन, जातीय विभेद, बालश्रम, घरेलु हिंसा, लागुऔषध दुर्व्यसन जस्ता सामाजिक विसंगतिका मुद्दालाई सर्वपक्षीय दायित्वको रूपमा अघि राख्ने बताएको छ।
पार्टीले बालबालिका प्रयोग नगर्ने, श्रमिक र कृषकको सम्मान सुनिश्चित गर्ने र मत जित्नु अघि जनताको मन जित्ने अभियान चलाउने अठोट पनि जनाएको छ। आगामी संसद्ले संविधान संशोधन गर्ने तयारीलाई ध्यानमा राख्दै कांग्रेसले मत माग्ने क्रममा संविधानलाई समयानुकूल र बलियो बनाउने नीतिलाई अघि राख्ने बताएको छ।
त्यसैगरी, प्रचार अभियानका लागि स्वतःस्फूर्त आर्थिक सहयोग मात्र स्वीकार गरिने, अनावश्यक दबाब दिँदै सहयोग संकलन नगर्ने नीति तोकिएको छ। अवकाश प्राप्त शिक्षक, सैनिक, प्रहरी र कर्मचारीलगायतलाई समाजमा सक्रिय बनाउने, विदेशबाट फर्केका पूर्वआप्रवासीलाई समेट्ने नीति समेत परिपत्रमा उल्लेख गरिएको छ।



