विकासका काम कागजमा नभई व्यवहारमा देखाउने विश्वदीपको संकल्प

by समतल अनलाइन
25Shares

बुटवल। रुपन्देही क्षेत्र नं– २ का प्रतिनिधि सभाका युवा उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आम जनताले जीवनमा महसुस हुनेगरी विकास चाहेकाले त्यसका निम्ति आफूले व्यवहारमा देखिने गरी काम गर्ने संकल्प गरेका छन ।
आफ्ना निर्वाचन क्षेत्रका जनतासंगको भेटघाट र अन्तरक्रियाका क्रममा उनले जनताका विभिन्न जिज्ञासा मेटाउदै परिवर्तन कागजमा नभई व्यवहारमा देखिने गरी ल्याउन आफू प्रतिवद्ध रहेको बताए ।

दैनिक जनताका गुनासा सुन्दै घरदैलोमा हिडेका उम्मेदवार विश्वदीपले अबका दिनमा ढाटेर आफ्नो दुनो सोझाउने ठगमाराहरु बिगतमा सांसद र मन्त्री बने पनि अब बेलैमा चिनेर यसपटकको चुनावमा किनारा लगाउनुपर्ने आवश्यकतामा जोड दिए ।
‘यो जिम्मेवारी मतदाताको काँधमा आएको छ’, उनले जनभेटघाटमा भने ‘मतदान गर्दा हजार चोटी सोच्नुहोला । पछि पछुताएर कुनै अर्थ हुनेछैन । जनताका असल प्रतिनिधि चुन्ने अवसर सधै प्राप्त हुँदैन ।’

जनताको आवश्यकता र चाहना आफूले राम्रोसंग बुझेको बताउँदै रुपन्देही क्षेत्र नं– २ का उम्मेदवार पाण्डेले नेपालमै सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्न सक्नेगरी काम गनुपर्ने चुनौती देशमा विद्यमान रहेको बताए । ‘ अब चुनौती देखेर भाग्ने छुट छैन, उनले भने ‘चुनौतीको सामना गरेर नै अवसरको सिर्जना गर्न सकिन्छ । त्यसका लागि हाम्रो पार्टी तयार छ । जनताको प्रतिनिधिका रुपमा म तयार छु ।

सकिन्छ , संभव छ ।’ उम्मेदवार पाण्डे जनताका पीरमर्का बुझ्दै दैनिक आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्तासंग खटिने गरेका छन । उनले जेनजी आन्दोलनको मर्म र भावना अनुसार आफ्नो उम्मेदवारी रहेकोले कुनै संकोच नमानी तारा चिन्हमा मतदान गरेर विजयी बनाउन मतदातासमक्ष अपिल समेत गर्ने गरेका छन ।

घरदैलोका क्रममा उनले आफू कुनै छलकपट नगरी युवा पुस्ताको ऊर्जा, नयाँ सोच र स्पष्ट विचारका साथ परिणाममुखी राजनीति गर्न दृढतापूर्वक लाग्ने विश्वास मतदातालाई दिलाएका छन । उम्मेदवार पाण्डेले भावी पुस्ताको भविश्य हेरेर देशको समृद्धि र परिवारको खुसी सुनिश्चित गर्ने महत्वपूर्ण अवसरको रुपमा फागु २१ गतेको चुनावलाई लिनुपर्ने समेत बताएका छन ।

रुपन्देही क्षेत्र नं २ का बुटवल उपमहानगरपालिकाका १ देखि १३ नं सम्मका वडा, तिलोत्तमाका १ देखि ६ नं सम्मका वडा र सैनामैनाका १ देखि ४ नं सम्मका वडामा नेकपाका नेता कार्यकर्ता र उम्मेदवार सहभागी भएर घरदैलो अभियान जारी राखेका छन ।

You may also like