बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुका जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन्।
बाणगंगा नगरपालिका–८, धनेषपुर निवासी भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारसम्बन्धी कागजातहरू आफ्नै फेसबुकमार्फत सार्वजनिक गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्र कुमार सिंहका अनुसार गत माघ २६ गते भट्टराईले फेसबुक वालमार्फत ती कागजात सार्वजनिक गरेका थिए। सोही विषयमा परेको उजुरीका आधारमा मंगलबार उनलाई नियन्त्रणमा लिइएको हो।
सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न सामग्री पोस्ट गरी घृणा तथा द्वेष फैलाएको र गोपनीयता भंग गरेको आरोपमा अनुसन्धान अघि बढाइएको डीएसपी सिंहले जानकारी दिए।
उनका अनुसार भट्टराईविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले यसअघि पनि सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्रहत्या गरेको सम्बन्धमा भट्टराईविरुद्ध गुनासो आएको जनाएको छ।
हाल उनलाई जिल्ला अदालत कपिलवस्तुबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



