तयारी र खरिद प्रक्रिया शुरु नभएका खुद्रे टुक्रे आयोजना मात्र स्थगन गरेका हौँ- अर्थमन्त्री खनाल

by समतल अनलाइन
32Shares

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले तयारी नभएका र खरिद प्रक्रियामा शुरु नभएका आयोजना मात्र स्थगन गरिएको बताएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले तत्कालीन विशेष परिस्थितिमा कम प्राथमिकतामा परेका र केही खुद्रे टुक्रे आयोजनाको रकम रोक्का गरिएकोमा अहिले प्राथमिकतामा अनुसार धेरै आयोजनाहरूको रकम फुकुवा भएर आयोजनाहरू सुरू हुने क्रममा रहेको बताएका हुन् ।

उनले भने- ‘तयारी हुदै नभएका, खरिद प्रक्रियामा जादै नगएका, खुद्रे टुक्रे आयोजना जसले तत्कालका लागि देशको अर्थ व्यवस्थामा योगदान गर्दैनन्, तिनीहरुलाई स्थगन गरिएको हो ।’

मन्त्री खनालले आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्नुपर्ने, सार्वजनिक सेवाको पुनः सञ्चालन गर्नको निमित्त खर्चको जोहो गर्नुपर्ने र निर्वाचनका लागि समेत रकम छुट्टाउनुपर्ने भएकाले आयोजनाहरू रोक्का गरिएको स्पष्ट गरेका थिए ।

आयोजनाहरूको पुनः प्राथमिकीकरण गर्ने, अनुत्पादक खर्च कटौती गरेर मितव्यता काम गर्ने मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णय अनुसार तयारी नभएका, खरिद प्रक्रियामा नगएका र अर्थतन्त्रलाई खासै लाभ दिन नसक्ने आयोजनाहरूको मात्रै स्थगित भएको उनले बताए ।

You may also like