बुटवल । चैतन्य एकेडेमी नेपालको १२औँ वार्षिकोत्सवको अवसरमा बुटवल शाखाले युवा विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित दुईदिने विशेष कार्यशाला कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ। विद्यार्थीहरूमा जीवन उपयोगी सीप, सकारात्मक सोच र लक्ष्यप्रति स्पष्टता विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रमको पहिलो दिन अन्तर्राष्ट्रिय प्रशिक्षक तथा उत्प्रेरक ऋषि न्यौपानेले ‘उच्च सफलताका लागि मस्तिष्कको अधिकतम उपयोग’ विषयमा प्रशिक्षण दिएका थिए। उनले सोचाइ परिवर्तन नगरी परिणाम परिवर्तन सम्भव नहुने उल्लेख गर्दै मन र जीवनलाई पुनःसंरचना गर्ने उपायहरूबारे सहजीकरण गरे। सकारात्मक सोच, आत्मअनुशासन, स्पष्ट लक्ष्य निर्धारण र निरन्तर अभ्यास नै सफलताको आधार भएको उनले बताए। प्रशिक्षणका क्रममा सहभागीहरूलाई विभिन्न अभ्यासमार्फत आफ्नो सोचाइ र व्यवहार मूल्याङ्कन गर्न प्रेरित गरिएको थियो।

दोस्रो दिन आध्यात्मिक गुरु तथा जीवनदर्शन, वेद र विज्ञानका अध्येता डा. चितामणि योगी गुरुले ‘लक्ष्य र सपनालाई यथार्थमा कसरी बदल्ने?’ भन्ने विषयमा प्रशिक्षण दिए। उनले मन–मस्तिष्कको सक्रियता, चेतनाको विकास, आध्यात्मिक दृष्टिकोण र व्यवहार सुधारको महत्त्वबारे प्रकाश पारे। उनले ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न सके मात्र सफलता दिगो हुने धारणा राखे। कार्यक्रममा विद्यार्थीहरूले आफ्ना जिज्ञासा र व्यक्तिगत समस्याहरू खुला रूपमा राखेका थिए, जसमा प्रशिक्षकहरूले मार्गदर्शन प्रदान गरेका थिए।
कार्यक्रमको संयोजन तथा स्वागत मन्तव्य चैतन्य एकेडेमीका व्यवस्थापक दीपक ढकालले गरेका थिए। कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, लुम्बिनी प्रदेशका प्रमुख सन्तोष आचार्य, नेपाल सरकारका शाखा अधिकृतहरू सागर पोखरेल, नवीन खड्का र शंकर अधिकारीलगायतको उपस्थिति रहेको थियो।
बुटवल शाखाले विगत एक वर्षदेखि नायब सुब्बा (नासु), खरिदार, शाखा अधिकृत, शिक्षक सेवा, बैंकिङ तथा विभिन्न सुरक्षा निकायका तयारी कक्षा सञ्चालन गर्दै आएको जनाएको छ। साथै सहसचिव तहसम्मका नमुना परीक्षा सञ्चालन गरी विद्यार्थीलाई प्रतिस्पर्धात्मक परीक्षाका लागि तयार पार्ने कार्य भइरहेको जानकारी दिइएको छ।
वार्षिकोत्सवको अवसरमा शैक्षिक मात्र नभई सामाजिक तथा सिर्जनात्मक गतिविधिहरू पनि सञ्चालन गरिएको व्यवस्थापक ढकालले बताए। उनका अनुसार आगामी दिनमा पनि विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई केन्द्रमा राखेर यस्ता प्रेरणादायी तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ।



