बुटवल । २०४४ सालमा बुटवल आएर व्यवसाय सुरु गर्नुभएका चुन्नप्रसाद पौडेलले खुद्रा किराना व्यवसायबाट यात्रा सुरु गर्दै उद्योगीको पहिचान बनाउनुभएको छ । लामो समयदेखि व्यवसाय र उद्योग क्षेत्रमा सक्रिय रहँदै आउनुभएका पौडेल हाल आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार छन ।

चुनावी अभियानकै क्रममा मंगलबार बुटवलमा आयोजित खुद्रा किराना व्यवसायीहरूसँगको अन्तरक्रियामा व्यवसायीहरूले पौडेलप्रति पूर्ण समर्थन जनाएका छन् । व्यवसायीहरूले पौडेललाई आफ्नै क्षेत्रबाट उठेको प्रतिनिधि भएको बताउँदै पार्टीभन्दा पनि व्यवसायीको प्रतिनिधिलाई जिताउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
खुद्रा किराना व्यवसायी संघका अध्यक्ष गोपालकुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा संघका सल्लाहकार कृष्णप्रसाद पाण्डे, महासचिव यमलाल बेलवासे लगायत व्यवसायीहरूले पौडेलको जीतले व्यवसायीको पहिचान स्थापित हुने र समस्या समाधानमा सहजता आउने विश्वास व्यक्त गरे । उनीहरूले परिवारकै सदस्यजस्तै भएकोले साथ र सहयोग रहने बताएका छन् ।
कार्यक्रममा बोल्दै उम्मेदवार पौडेलले आफू खुद्रा किराना व्यवसायबाटै उद्योगी बनेको उल्लेख गर्दै व्यवसायीका समस्या आफूलाई नजिकबाट थाहा रहेको बताए । उनले व्यवसायीहरूसँग छलफल गरेर नीतिगत सुधार र समस्या समाधानका लागि स्पष्ट कार्ययोजना बनाइने प्रतिबद्धता व्यक्त गरे ।
त्यस अवसरमा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ का सभापति तथा निर्वाचन परिचालन मूल समितिका संयोजक प्रजापाल गिरीले पौडेल उद्योगी–व्यवसायीका अभिभावक भएको बताए । पौडेलको विजयले क्षेत्रको औद्योगिक तथा व्यावसायिक विकासमा ठूलो योगदान पुग्ने उनको विश्वास थियो । गिरीले विकास र समृद्धिको यात्रामा रहेको नेपाली कांग्रेसलाई सहयोग गर्न रुख चिन्हमा मतदान गर्न आग्रह गरे ।
यसैबीच, विभिन्न राजनीतिक दल परित्याग गरी बुटवलका विभिन्न वडाबाट २४ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । देशको विकास र स्थायित्वका लागि नेपाली कांग्रेस नै प्रतिबद्ध पार्टी भएको निष्कर्षसहित उनीहरू पार्टीमा प्रवेश गरेका हुन् । माओवादी द्वन्द्वकालमा भूमिगत जीवन बिताएकासमेत कांग्रेसमा समाहित भएका छन् ।
बुटवल उपमहानगरपालिका वडा नं. ८ मा मंगलबार आयोजित कार्यक्रममा प्रतिनिधि सभा उम्मेदवार चुन्नप्रसाद पौडेल, क्षेत्रीय सभापति प्रजापाल गिरीलगायत कांग्रेस नेताहरूले युवाहरूलाई पार्टीमा स्वागत गरेका थिए ।
त्यसैगरी मंगलबार नै तिलोत्तमा नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसको प्रचार–प्रसार सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।



