टोकियो।एशियन ब्रिज इन्टरनेशनल स्कुलले कक्षा १ मा अध्ययनरत विद्यार्थीहरूका लागि आयोजना गरेको वार्षिक खेलकुद कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

मङ्गलबार, १० फेब्रुअरी २०२६ का दिन टोकियोको किता–कुस्थित ताकिनोगावा पार्कमा कार्यक्रम आयोजना गरिएको हो। विद्यालयबाट करिब पाँच मिनेटको पैदल दूरीमा रहेको पार्कमा बिहान १० बजेदेखि सुरु भएको कार्यक्रम दिउँसो १२:३० बजेसम्म सञ्चालन भएको थियो।
कार्यक्रममा कक्षा १ का नानीहरूले दौड, समूह खेल, सन्तुलन खेललगायत विभिन्न बालमैत्री खेलकुद गतिविधिमा सक्रिय सहभागिता जनाएका थिए। खेलकुदमार्फत बालबालिकाको शारीरिक विकास, आत्मविश्वास, अनुशासन र सहकार्यको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. बलराम श्रेष्ठ रहनुभएको थियो। कार्यक्रमको सञ्चालन शैक्षिक निर्देशक तथा अतिरिक्त क्रियाकलाप संयोजक प्रकाश ढकालले गर्नुभएको थियो।
कार्यक्रममा कक्षा १ की कक्षा शिक्षक तथा कक्षा १–२ संयोजक मिङ्मा तामाङ मोक्तान, कक्षा ३–४ संयोजक सृष्टि सेरचन, नेपाली विभाग प्रमुख अनिता रिसाल, उप–प्रधानाध्यापक नारायण कट्टेल तथा जापानीज शिक्षक सिनोजाकी सेन्सेइको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका अध्यक्ष डा. बलराम श्रेष्ठले खेलकुद शिक्षा बालबालिकाको सर्वाङ्गीण विकासका लागि अपरिहार्य रहेको बताउनुभयो। यस्ता कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्ध थप मजबुत बनाउने उहाँको भनाइ थियो।
कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयको व्यवस्थापन, समयपालन र बालमैत्री वातावरणको प्रशंसा गरेका छन्। विद्यालयले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण शिक्षक, कर्मचारी तथा अभिभावकप्रति धन्यवाद व्यक्त गरेको छ।



