देशका समस्या समाधान गर्ने क्षमता कांग्रेससँगै छ : चुन्न पौडेल

by समतल अनलाइन
51Shares

बुटवल । आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ ले बुटवल उपमहानगरपालिका वडा नम्बर ५ बाट चुनावी गतिविधिलाई थप सक्रिय बनाएको छ। यसैक्रममा वडा स्तरीय चुनाव प्रचार–प्रसार कार्यालय सञ्चालनमा ल्याइएको छ।

सोमबार नेपालगञ्ज रोडमा आयोजित कार्यक्रममा कार्यालय उद्घाटनसँगै कांग्रेस नेताहरूले देशको वर्तमान अवस्था, युवापुस्ताका अपेक्षा र विकासका प्राथमिकताबारे धारणा राखेका थिए। कार्यक्रममा सहभागी नेताहरूले भ्रष्टाचार नियन्त्रण, सुशासन र स्थायित्वका लागि नेपाली कांग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्कीले युवाले उठाएका मुद्दा र असन्तुष्टि गम्भीर रहेको उल्लेख गर्दै त्यसको समाधान अनुभवी र लोकतान्त्रिक दल कांग्रेसले मात्र दिन सक्ने दाबी गर्नुभयो। उहाँले देशलाई समृद्धितर्फ लैजान कांग्रेसका उम्मेदवारलाई जिताउन मतदातासँग आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेलले विकास र रोजगारीलाई केन्द्रमा राखेर चुनावी एजेन्डा तय गरिएको जानकारी दिनुभयो। रुपन्देहीलाई शिक्षा र स्वास्थ्य सेवाको प्रमुख केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको बताउँदै त्यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने नीति अपनाइने उहाँको भनाइ थियो।

उम्मेदवार पौडेलले उद्योग र व्यवसायमैत्री वातावरण नबनाएसम्म रोजगारी सिर्जना सम्भव नहुने उल्लेख गर्दै कानुनी तथा नीतिगत सुधार आफ्नो प्राथमिकतामा रहने स्पष्ट पार्नुभयो।
कार्यक्रममार्फत नेपाली कांग्रेसले वडा तहबाटै संगठन मजबुत बनाउँदै मतदातासम्म आफ्ना एजेन्डा पुर्‍याउने रणनीति अघि सारेको देखिएको छ।

You may also like