मुम्बई । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ।

इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १० रन आवश्यक हुँदा सेट ब्याटर लोकेश बम क्रिजमा रहे पनि नेपालले जित निकाल्न सकेन।
लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। तर चौथो ओभरमा आसिफ शेख आउट भएपछि नेपालले छैटौँ ओभरमा कुशल भुर्तेललाई पनि गुमायो। भुर्तेलले १७ बलमा ४ चौका र १ छक्कासहित २९ रन बनाए। दुवै ओपनर आउट हुँदा नेपालको स्कोर ४२–२ थियो।
त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले इनिङ्स सम्हाल्दै तेस्रो विकेटका लागि ८२ रनको महत्वपूर्ण साझेदारी गरे। यो साझेदारीले एक समय इंग्ल्यान्डलाई दबाबमा पारेको थियो।
तर १५औँ ओभरमा दीपेन्द्र सिंह ऐरी साम करनको बलमा आउट भएपछि नेपालले तेस्रो विकेट गुमायो। २९ बल खेलेका दीपेन्द्रले ६ चौका र १ छक्कासहित ४४ रन बनाए। यस क्रममा उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमानसमेत बनाएका छन्।
लगत्तै कप्तान रोहित पौडेल पनि ३९ रनमा आउट भए। उनले ३४ बलमा २ चौका र १ छक्का प्रहार गरे। आरिफ शेखले ८ बलमा १० रन जोडे।
इंग्ल्यान्डका लागि बलिङतर्फ लियम डसनले २ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।
इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५५ रन बनाए। कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन जोडे। विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाउँदै १ चौका र ४ छक्कासहित आक्रामक फिनिसिङ गरे।
इंग्ल्यान्डका ओपनर फिल साल्टलाई नेपालका डेब्युटान्ट शेर मल्लले आफ्नो पहिलो बलमै आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। ५७–३ को संकटपूर्ण अवस्थामा बेथेल र ब्रूकले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इंग्ल्यान्डको इनिङ्स सम्हाले।
नेपालका लागि बलिङमा दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले समान १–१ विकेट हात पारे।



