युगअनुसार बद्लिएको काँग्रेसले देशलाई सही दिशा दिन्छ : काँग्रेस नेताहरू

by समतल अनलाइन
71Shares

बुटवल । नेपाली काँग्रेस युगअनुसार आफूलाई परिमार्जन गर्दै आएको र त्यसले मुलुकलाई पनि सही दिशा र गति दिने काँग्रेस नेताहरूले दाबी गरेका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा रुपन्देही क्षेत्र नम्बर–२ अन्तर्गत वडा प्रचार कार्यालय उद्घाटन कार्यक्रमका क्रममा नेताहरूले काँग्रेस मुलुकको मियो पार्टी भएको उल्लेख गर्दै काँग्रेसकै नेतृत्वमा सरकार बन्न आवश्यक रहेको बताएका हुन्।

बुटवल उपमहानगरपालिका वडा नम्बर–६ मा स्थापना गरिएको प्रचार कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै काँग्रेस केन्द्रीय सदस्य रामबहादुर कार्कीले युगअनुसार बद्लिएको काँग्रेसले देशको मुहार बदल्ने दाबी गर्नुभयो। उहाँले आम नेपालीको आशा र भरोसाका नेता गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारिएको उल्लेख गर्दै उहाँको नेतृत्वमा बन्ने सरकारले देशलाई सही दिशा र गति दिने विश्वास व्यक्त गर्नुभयो। त्यसका लागि देशभर काँग्रेसका उम्मेदवारलाई जिताउन आवश्यक रहेको उहाँको भनाइ थियो।

उहाँले रुपन्देही क्षेत्र नम्बर–२ मा नेपाली काँग्रेसले महासमिति सदस्य, समाजसेवी तथा उद्योगपति चुन्नप्रसाद शर्मा पौडेललाई उम्मेदवार बनाएको जानकारी दिँदै उहाँको विजयले यस क्षेत्रको भौतिक, सामाजिक, आर्थिक तथा औद्योगिक विकासमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै उम्मेदवार पौडेलले आगामी निर्वाचन नेपाली काँग्रेसको इतिहास, विश्वास र भविष्यको परीक्षा भएको बताउनुभयो। लामो समयपछि काँग्रेसको रुख चिन्हमा मतदान गर्न पाउनु गर्वको विषय भएको उल्लेख गर्दै उहाँले पार्टीका अनुभवी, दिग्गज नेता, युवा तथा विद्यार्थी टोल–टोलमा खटिएको जानकारी दिए ।

लोकतन्त्र विश्वकै लोकप्रिय शासन व्यवस्था भए पनि मुलुकमा राजनीतिक अस्थिरता, युवामा बढ्दो निराशा र कमजोर बन्दै गएको जनविश्वास चिन्ताको विषय भएको उहाँको भनाइ थियो। “हिजोभन्दा आज हामी कति बदलिएका छौँ र जनताको आशा कति बोकेका छौँ भन्ने प्रश्न आफैँसँग सोध्न आवश्यक छ,” उनले भने ।

उम्मेदवार पौडेलले यस्ता समस्याको समाधान खोज्न आफू राजनीतिमा आएको स्पष्ट पार्दै झुटा सपना नदेखाउने, सत्य बोल्ने, जिम्मेवारी लिने र काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक लक्ष्यतर्फ अघि बढ्नुपर्ने र निराशा होइन आशा छर्नुपर्ने समय आएको उल्लेख गर्नुभयो। नेपाली काँग्रेसको नेतृत्वमा युवामैत्री, रोजगारमुखी र सुशासनयुक्त नेपाल निर्माण गर्ने लक्ष्यमा आफू सारथी बन्ने विश्वास दिलाउँदै रुख चिन्हमा मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रीय सभापति तथा निर्वाचन परिचालन मूल समितिका संयोजक प्रजापाल गिरीले काँग्रेस गौरवपूर्ण इतिहास बोकेको पार्टी भएको र सुनौलो भविष्यको स्पष्ट मार्गचित्र समेत रहेको बताउनुभयो। आम नेपालीको सपना साकार पार्ने क्षमता काँग्रेससँग रहेको उल्लेख गर्दै पार्टीप्रति बढ्दै गएको जनआशा र भरोसालाई कमजोर हुन नदिइने दाबी गरे ।

बुटवल उपमहानगरपालिका वडा नम्बर–६ का सभापति ताराप्रसाद ज्ञवालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेताहरूले नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन र रुख चिन्हमा मतदान गर्न आम मतदातालाई आग्रह गरेका थिए।

यसैबीच, क्षेत्रीय सचिव तथा निर्वाचन परिचालन मूल समितिका सदस्य सचिव विमलराज भट्टराईका अनुसार रुपन्देही क्षेत्र नम्बर–२ अन्तर्गत पर्ने बुटवल उपमहानगरपालिकाका १३, तिलोत्तमा नगरपालिकाका ६ र सैनामैना नगरपालिकाका ४ गरी कुल २३ वडामध्ये १६ वडामा निर्वाचन परिचालन वडा कार्यालय स्थापना भइसकेको छ। शुक्रबार मात्रै बुटवल उपमहानगरपालिकाका वडा नम्बर १, ६ र १० तथा तिलोत्तमा नगरपालिकाको वडा नम्बर–३ मा प्रचार कार्यालय उद्घाटन गरिएको उहाँले जानकारी दिए।

You may also like