नेवारी पहिचान संरक्षणको सन्देशसहित बुटवलमा सामूहिक ईही

by समतल अनलाइन
55Shares

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना गर्ने उद्देश्यसहित बुटवलमा ५९ नेवारी कन्याको सामूहिक ईही (बेलिविवाह) सम्पन्न भएको छ । श्री नेवाः सेवा समितिको आयोजनामा देविनगरस्थित भूपुसैनिक सभा हलमा दुई दिनसम्म ईही तथा कैटापूजा कार्यक्रम सञ्चालन गरिएको हो ।

नेवारी पण्डितहरूबाट विधिपूर्वक सामूहिक रूपमा ईही सम्पन्न गरिँदा खर्च न्यून हुनुका साथै संस्कारलाई शुद्ध र व्यवस्थित रूपमा निरन्तरता दिन सकिने भएकाले यसको महत्व बढ्दै गएको समितिका अध्यक्ष डिल्लीकुमार श्रेष्ठले बताए । बदलिँदो सामाजिक परिवेशमा परम्परागत संस्कार संरक्षणका लागि सामूहिक कार्यक्रम प्रभावकारी माध्यम बनेको उनले उल्लेख गरे ।

सामूहिक ईही कार्यक्रममा मूल कन्याका कजी कन्या युनिसा श्रेष्ठ तथा अभिभावक युवराज श्रेष्ठ र सीमा श्रेष्ठसहित कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने व्यक्तिहरूलाई सम्मानपत्रद्वारा सम्मान गरिएको कार्यक्रम संयोजक अन्जु श्रेष्ठले जानकारी दिइन् ।

नेवारी पण्डित हरिशरण राजोपाध्यायले सामूहिक ईही नेवारी संस्कृतिको महत्वपूर्ण संस्कार भएको उल्लेख गर्दै यसले धर्म, संस्कार र सामाजिक एकतालाई मजबुत बनाउने बताए । ईही केवल धार्मिक कर्मकाण्ड मात्र नभई कन्यालाई संस्कार, मर्यादा र सामाजिक जिम्मेवारीप्रति सचेत गराउने माध्यम भएको उनको भनाइ छ ।

कार्यक्रममा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी श्रेष्ठले सामूहिक रूपमा आयोजना गर्दा विधि शुद्ध रहने, खर्च कम हुने, सबै वर्गका परिवारलाई समान अवसर मिल्ने र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न सहज हुने बताए । घरमै कन्यालाई संस्कार र कर्म सिकाउने परम्पराको निरन्तरताका रूपमा ईही रहेको उनले उल्लेख गरे ।

समितिका सचिव लक्ष्मण श्रेष्ठले समूहमा गरिएको यस्ता कार्यक्रमबाट नयाँ पुस्तालाई संस्कार र संस्कृतिबारे ज्ञान सिक्न सहज हुने बताए । छरिएर रहेका नेवार समुदायलाई गोलबद्ध गर्दै संस्कृति संरक्षणसँगै सामाजिक कार्यमा अग्रसर गराउँदै आएको उनले बताए ।

यस वर्ष रुपन्देहीसहित नेपालगञ्ज, स्याङ्जा, गुल्मी, अर्घाखाँचीलगायत विभिन्न जिल्लाबाट ५९ कन्या र ९ बालक कार्यक्रममा सहभागी भएका कार्यक्रम संयोजक देवकुमार श्रेष्ठले जानकारी दिए ।

You may also like