राजनीतिलाई सेवा र जिम्मेवारीका रूपमा लिएको छु : चुन्नु प्रसाद पौडेल

by समतल अनलाइन
87Shares

बुटवल। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–२ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले राजनीति व्यक्तिगत स्वार्थका लागि नभई समाजसेवाको प्रभावकारी माध्यम भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ रुपन्देहीको निर्वाचन प्रचारप्रसार समितिको वडा नम्बर–४ ट्राफिक चोकस्थित कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले आफू राजनीतिमा आउनुअघि पनि र आएपछि पनि सामाजिक उत्तरदायित्वबाट कहिल्यै अलग नभएको स्पष्ट पार्नुभयो ।

“म सधैं सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको छु, राजनीति पनि जनताको सेवा गर्ने अर्को माध्यम मात्र हो,” उहाँले भन्नुभयो ।
पौडेलले आफूले आर्जन गरेको आम्दानीको केही हिस्सा निरन्तर स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा लगानी गर्दै आएको उल्लेख गर्नुभयो । बुवा–आमाको नाममा नागरिक समाजलाई एम्बुलेन्स हस्तान्तरण, गुल्मेली समाजका लागि मन्दिर, सभाहल र पार्क निर्माण, रेडक्रस भवनमा सभाहल निर्माण तथा खेलकुद क्षेत्रमा प्रमुख प्रायोजकका रूपमा गरेको सहयोगलाई उहाँले उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि पनि सधैं जनतासँगै रहने प्रतिबद्धता व्यक्त गर्दै पौडेलले स्वर्गीय सूर्यप्रसाद प्रधानले देख्नुभएको सपना साकार पार्न उहाँका असल कामको मार्ग अनुसरण गर्दै अघि बढ्ने बताउनुभयो ।

उहाँले बुटवलका वडा नम्बर ३ र ४ मा पहिरो जोखिम न्यूनीकरणका लागि थप योजनाहरू अघि बढाइने, उद्योग सञ्चालनमार्फत हजारौँलाई रोजगारी सिर्जना भइसकेको र आगामी दिनमा अझ व्यवस्थित रूपमा रोजगारी विस्तार गरिने जानकारी दिनुभयो ।

कार्यक्रम वडा सभापति अरुणकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्की, क्षेत्रीय सभापति प्रजापाल गिरी, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, महासमिति सदस्य जमुना ढकाल, दीर्घबहादुर केसी, सबिता शाक्य, महेश थैव, महासमिति सदस्य तथा समानुपातिक उम्मेदवार रिता सेन ओलीलगायतले मन्तव्य राख्नुभएको थियो ।

वक्ताहरूले कांग्रेसले विगतका कमजोरी स्वीकार गर्दै नयाँ सोच, संकल्प र योजनासहित अघि बढेको उल्लेख गर्दै “बदलिएको कांग्रेसको प्रतिनिधि चुन्नप्रसाद पौडेल हुनुहुन्छ,” भन्दै उहाँलाई विजयी गराउन सबै एकजुट हुनुपर्नेमा जोड दिए । साथै विगतमा झुटा आश्वासन बाँड्ने सांसदलाई अब विश्राम दिने समय आएको बताउँदै यसपटक कांग्रेसलाई जिताउन आग्रह गरे ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–२ बाट पौडेललाई विजयी गराउने उद्देश्यसहित नेपाली कांग्रेसले वडा स्तरमै संगठन सुदृढ गर्ने क्रममा वडा कार्यालय उद्घाटन गरेको हो ।

You may also like