बेरोजगारीको बिजोग, ४४ सय कर्मचारी माग्दा एक लाख १३ हजारको दरखास्त

by समतल अनलाइन
52Shares

काठमाडौं।राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै करारका कर्मचारी माग्दा परेको आवेदन अङ्कले देशमा बेरोजगारीको विकराल चित्र झल्काएको छ। कार्यालयले राष्ट्रिय आर्थिक गणनाका लागि चार हजार ४३९ करारका कर्मचारी माग्दा झन्डै २६ गुणा बढी अर्थात् एक लाख १३ हजार ३५० दरखास्त परेका छन्। यो पनि लामो अवधिको जागिरका लागि होइन, केवल साढे दुई महिनाका लागि मात्र हो।

तोकिएको अवधिमा सर्भरमा समस्या हुँदा सबैले दरखास्त दिन नसकेका कारण अझै पाँच दिन थप भएको छ। त्यसैले, दरखास्त अझै बढ्ने निश्चित छ। तथ्याङ्क कार्यालयले गत १ माघमा २१ दिनको म्याद दिएर राजपत्र अनङ्कित प्रथम श्रेणीतर्फ ५२६ र राजपत्र अनङ्कित द्वितीय श्रेणीका लागि तीन हजार ९१३ कर्मचारी माग गरेको थियो । तर, सर्भरमा समस्याका कारण तोकिएको अवधिमा सबैले दरखास्त हाल्न नपाएपछि कार्यालयले २६ माघसम्मका लागि म्याद थपेको छ।

सर्भरमा ओभर क्राउड हुँदा सबैले दरखास्त दिन नसकेकाले पाँच दिन म्याद थप गरिएको कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। औसतमा दैनिक पाँच हजार ५२६ दरखास्त परेको र अन्तिम दिनसम्म पनि सर्भरका कारण दरखास्त भर्न नपाएका सर्वसाधारणको मागका आधारमा २६ माघसम्मका लागि म्याद थपिएको लामिछानेले जानकारी दिए।

करार सेवाको जागिरमा राजपत्र अनङ्कित प्रथम श्रेणी पदका लागि ३४ हजार ७३० तथा राजपत्र अनङ्कित द्वितीय श्रेणीका लागि ३२ हजार ९०२ रुपैयाँ मासिक तलब तोकिएको छ। स्थलगत तथ्याङ्क संकलन र सुपरिवेक्षणका लागि कार्यालयले करारमा कर्मचारी भर्ना गर्न लागेको हो।

You may also like