काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बदलिएको कांग्रेसले रुखको छहारीमा बस्दैमा कानुन उल्लंघन गर्नेलाई संरक्षण नदिने बताएका छन् । आम मानिसका विषयलाई प्राथमिकतामा राखिने उल्लेख गर्दै उनले कानुन उल्लंघन गर्ने जोसुकै भए पनि संरक्षण नपाउने पद्धति स्थापित गर्ने बताएका हुन् ।

‘नेपाली कांग्रेस कानुन उल्लंघन गर्ने व्यक्ति रुखको छहारीमा बसेको रहेछ भने त्यसको संरक्षण गर्दैन,’ थापाले भने, ‘नेता होस्, नाताको होस् कानुन उल्लंघन गर्नेले संरक्षण पाउँदैन ।’
कांग्रेसप्रति आमनागरिकको विश्वास बढ्दै जाने दाबी गर्दै उनले अब पार्टीबाट कोही पनि नागरिक टाढा रहेको महसुस गर्नुनपर्ने बताएका छन् । पार्टीमा नलागेकादेखि पार्टी छोडेकाहरूलाई पुनः सक्रिय हुन आह्वान गर्दै सबैको विश्वास बोक्ने पार्टी बनेर देश परिवर्तन गर्ने विश्वास व्यक्त गरे ।
जेनजीको आह्वानअनुसार पार्टी परिवर्तन गरिएको उल्लेख गर्दै उनले युवालाई साथमा लिएर अघि बढ्न आग्रह गरेका हुन् । ‘तपाईंले युवाहरूलाई साथ लिएर हिँड्ने पार्टी बनाउने आह्वान गर्नुभएको थियो । तपाईंको आह्वानलाई समर्थन र स्वीकार गर्दै ठूलो जोखिम मोलेर कांग्रेस बदलेका छौँ,’ थापाले भने, ‘तपाईं व्यक्तिगत स्वतन्त्रतामा विश्वास गर्नुहुन्छ । तपाईंको विश्वासलाई समर्थन गदै तपाईंसँग आएका छौँ । अब एकपटक हामीलाई साथ दिनुस् । तपाईंसहितको साथले बदलिएको कांग्रेसले देशलाई बदल्नेछ ।’



